Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड–१९ का कारण प्रभावित घलेगाउँ घरबास (होमस्टे) मा आन्तरिक पर्यटक आउन थाले

कोभिड–१९ का कारण प्रभावित घलेगाउँ घरबास (होमस्टे) मा आन्तरिक पर्यटक आउन थाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ६, २०७७ शनिवार • १४:०६:०१ बजे
  • 1.8K
    SHARES
  • कोभिड–१९ का कारण प्रभावित घलेगाउँ घरबास (होमस्टे) मा आन्तरिक पर्यटक आउन थाले
    गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

    गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेको भनाइ छ । उहाँले भन्नुभयो, “विगतमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या बनाएको थियो, तर अहिले पर्यटकको पर्खाइमा रहनुपरे पनि विस्तारै पर्यटक वृद्धि हुन थालेको छ ।”

    पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

    विसं २०५७ बाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको उक्त समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology