नेपाल आयल निगमले देशका विभिन्न राजमार्गमा पेट्रोलपम्प सञ्चालन गर्ने भएको छ । निगमले आफ्नै लगानीमा महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्गमा २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो। यसका लागि निगमले जग्गाको खाेजी गरिरहेको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बजारमा उपस्थित जनाएर नमुना पम्प बनाएर सेवा दिन निगमले पम्प सञ्चालनमा ल्याउन लागेको बताए । यसबाट निजी क्षेत्रको कारोबारमा कुनै अवरोध नआउने निगमले दाबी गरेको छ। चौबिसैघण्टा सेवा पुर्याउने गरी पाँच प्रमुख राजमार्गमा पम्प सञ्चालन गर्न लागिएको हो।
पम्प सञ्चालनका लागि निगमले जग्गा उपलब्ध गराइदिन स्थानीय तहसँग पत्राचारसमेत गरेको छ। पम्प निर्माणका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउन नमाने जग्गा खरिद गरेर पनि योजना अघि बढाइने निगमले जनाएको छ। सरकारले सार्वजनिक गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा राज्यको उपस्थिति कायम गर्ने उल्लेख छ। ‘नीति तथा कार्यक्रममा आएको योजनाअनुसार पम्प सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेका छौं’ पौडेलले भने, ‘पेट्रोल पम्प सञ्चालनका लागि हामीसँग जग्गा नभएकाले स्थानीय तहसँग भाडामा जग्गा माग गरेका छौं।’
महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्गमा पर्ने ५८ वटा स्थानीय तहलाई जग्गा उपलब्ध गराइदिन निगमले पत्राचारसमेत गरिसकेको छ। निगमले स्थानीय तहसँग ३० वर्षका लागि जग्गा भाडामा माग गरेको हो।
पौडेलका अनुसार पम्प सञ्चालनमा स्थानीय तहले साझेदारी गर्न सक्ने व्यवस्थासमेत राखिएको छ। एउटा पम्प निर्माण गर्न निगमले एक बिघा जग्गा स्थानीय तहसँग माग गरेको छ। जग्गाबाहेक पम्प निर्माण गर्न पाँच करोड रुपैयाँको हाराहारीमा लगानी लाग्ने निगमले जनाएको छ। निगमको स्वामित्वमा हालसम्म भैरहवामा एक मात्र पम्प सञ्चालनमा छ । हाल देशभर १ हजार ५ सय २८ पम्प सञ्चालनमा छन्।
निगमले आफ्नै लगानीमा पेट्रोल पम्प सञ्चालन गर्न लागेको विषयमा निजी क्षेत्रले विरोध जनाएको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमले आफैं इन्धन आयात गर्ने र पम्प सञ्चालन गरी खुद्रा व्यापार गर्दा निजी क्षेत्रको कारोबारमा असर पुग्ने दाबी गरे।
यसैबीच नेपाल आयल निगमले सुदूरपश्चिम क्षेत्रमा ९० दिनका लागि इन्धन भण्डारण गृह निर्माण गर्न जग्गाको खोजी सुरु गरेको छ। जग्गा खोजी गर्ने क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललगायतको टोलीले आइतबार कैलालीको शिवशक्ति महिला सामुदायिक वन क्षेत्रको निरीक्षण गरेको थियो ।