एजेन्सी । बाँदरलाई मानव जातिको पूर्खाका रुपमा हेर्ने गरिन्छ । उसका हरेक व्यवहार मानव जातिकै झल्को दिने हुन्छन् । तर, पछिल्लो उसको गतिविधिले समस्त मानव जातिलाई आश्चर्यमा पारेको छ ।
कोस्टारिकामा रहेको सेन्टा रोजा राष्ट्रिय निकुञ्जमा केही वन्यजन्तु विज्ञ तथा अनुसन्धानकर्तालाई सेतो मुख भएको क्यापुचिन बाँदरको जीवनशैलीमा आएको परिवर्तनले आश्चर्यमा पारेको छ । उक्त स्थानमा बाँदर सम्बन्धी फिल्म बनाउने कार्य भइरहेको थियो । यसै सन्दर्भमा भएको एक घटनाले विज्ञहरुको होस् उडेको थियो ।
बाँदरको एक सानो बच्चा रुखबाट लडेर मर्यो । उसका परिवार र अन्य बाँदरहरु तल ओर्लिए । विज्ञहरुलाई लागेको थियो कि बच्चाप्रति उनीहरु आफ्नै प्रकारको समवेदना प्रकट गर्नेछन् तर ती बाँदरहरुले मृत बच्चा बाँदरलाई चिथोरी चिथोरी खान थाले ।
क्यापुचिन बाँदरको यस प्रकारको व्यवहार देखेर अनुसन्धानकर्ता चकित परे । ससाना किरा माकुरा र फलका पात खाने यी प्रजातिका बाँदरहरुले अचानक आफ्नै बच्चा कसरी खाए होलान् ?
यी बाँदरहरुको व्यवहारमा आएको यसप्रकारको परिवर्तनबाट संसारभरका वन्यजन्तु विज्ञ र अन्य जीव वैज्ञानिकहरु हतप्रभ भएका छन् किनकी यो एक प्रकारको क्यानिबलिज्म हो । क्यानिबलिज्म भनेको एक प्रकारको मांशहारी हो । यसको खास अर्थ आफ्नै प्रजातिको जीवको मासु खाने भन्ने हो ।
यो प्रजातिको बाँदर सेन्टा रोज निकुञ्जमा ३७ वर्षदेखि छ । तर, उसले यसप्रकारको रवैया भने आजसम्म कसैले देखेको थिएन । बाँदरहरुको व्यवहारमा आएको यसप्रकारको डरलाग्दो परिवर्तनको रिपोर्ट १६ अक्टुबरमा इकोलोजी एण्ड इभोल्यूशन नामक जर्नलमा प्रकाशित भएको थियो । यो रिपोर्टलाई विज्ञ निशिकावा र उनको टीमले तयार गरेको हो ।