त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन्। विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ उडान हुन लागेका हुन्।
आज हुने उडानमध्ये नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ। बाँकी एयरलाइन्सका जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ। नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन्। आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन्।
कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ। सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ।
यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कंदै छ। आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन्।
अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ।