भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद सुचारू गर्न उनी विशेष विमानबाट आइपुगेका हुन्।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी आएका हुन् । पौड्यालले भारतीय समकक्षी श्रींगलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिल्यै नेपाल आउन चाहेको बताए । उनले विदेश सचिबका रूपना मात्र पहिलो भ्रमण रहेको तर पहिले नै काठमाडौं आएको पनि बताए ।
श्रींगलाले नेपाल भारत संबन्ध बलियो रहेको भन्दै थप सुदृढ गर्न आफू नेपाल आएको पनि बताए । उनले नेपाल र भारत निकटतम मित्र रहेको बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिब श्रृंगलाले शुरुमा नेपाली समकक्षी परराष्ट्र सचिब भरतराज पौड्यालसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दैछन् ।
वार्तामा परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एशिया महाशाखा प्रमुख सहसचिब यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् ।
विदेश सचिव श्रृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भूटान मामिला हेर्ने सहसचिब अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदुत बिनयमोहन क्वात्रा, भारतीय दूताबासका अधिकारीहरु हुनेछन् ।
श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीस्ग भेट गर्ने कार्यक्रम छ ।
उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजबादी पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी भोलि गोरखा र मनाङ भ्रमण गरेर दिल्ली फर्किने कार्यक्रम छ ।