प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दा पनि आलोचना भएको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्तावप्रति नाम नलिइकन असन्तुष्टि जनाएका हुन् ।
लोकतन्त्रमा जिम्मेवारी भन्दा स्वतन्त्रताको प्रयोग भएकाले सरकारको आलोचना भएको उनको भनाइ छ । उनले भने, ‘आफ्ना आलाकाँचा कार्यकर्ता अल्मलाउन विभिन्न प्रकारका कुराहरु बोलिएको छ । सरकारले राम्रो काम गर्दा पनि आलोचना भएको छ । सरकारविरुद्ध विभिन्न प्रकारले प्रहार गरिएको छ । लोकतन्त्रमा जिम्मेवारी भन्दा स्वतन्त्रताको प्रयोग धेरै भएको छ । यस्ता कुराको भ्रममा नपर्न म आग्रह गर्छु ।’
कोरोना महामारीकैबीचमा सरकारले राम्रो काम गरेको दावी गर्दै उनले आर्थिक क्षेत्रको सुधारका लागि सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारसँग अब विकासका सम्भावनामात्रै बाँकी रहेको बताए ।