नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्को प्रस्ताव पेश गर्नेछन् ।
प्रचण्डले सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा ओलीको कार्यशैली र सरकारका कामको समीक्षा गर्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए । सुरुमा प्रचण्डको प्रस्तावमा जवाफ नदिने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफी प्रस्ताव तयार पार्न १० दिनको समय मागेका थिए ।
आजको बैठकमा ओलीको प्रस्तावमा छलफल हुनेछ । एक सचिवालय सदस्यले भोलि वा पर्सि फेरि सचिवालय बैठक बसेर प्रस्तावउपर टुंगोमा पुग्ने जानकारी दिए । स्थायी कमिटी र केन्द्रीय कमिटीले यी प्रस्तावमा आवश्यक निर्णय लिनेछ । मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
नेकपामा यसअघि बसेको स्थायी कमिटीको निर्णय अनुसार प्रधानमन्त्री ओली नचलेको भन्दै विवाद बढेको छ । राजदूत नियुक्ति, मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कूटनीतिक मर्यादाविपरित ओलीले गरेको भेटघाटले नेकपाको विवाद उत्कर्षमा छ ।