मंसिर १४, २०७७ आइतवार
•
१३:५०:३५ बजे
पर्वत - सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माणसहित सिटी हल निर्माणका लागि प्रक्रिया शुरु भएको छ। संघीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा बसपार्कसहित सिटी हल निर्माणका लागि बजेट विनियोजन गरेपछि निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको हो । नगरपालिकाले सो कार्यका लागि डिपिआर तयार पारिसकेको छ।
तत्कालका लागि प्रारम्भिक काम गर्न मन्त्रालयले रु एक करोड बजेट पठाइसकेको कुश्मा नगरपालिकाले जनाएको छ। डीपीआर निर्माणपछि बहुवर्षे ठेक्काको प्रक्रिया शुरु हुने नगरपालिकाले जनाएको छ। अहिले रु एक करोड रकमबाट जग्गा सम्माउने, पर्खाल निर्माण गर्ने, प्रारम्भिक चरणमा आवश्यक पर्ने निर्माण सामग्री खरिद गर्नेलगायतका काम हुने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।
सरकारले बजेट पुस्तिकामा कुश्मामा बसपार्क निर्माण गरिने उल्लेख गरेको छ। कुश्मा नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बसपार्कसहित सिटी हल निर्माणलाई प्राथमिकतामा राखेको छ । कुश्मा बजार विस्तार हुँदै गइरहेको, भित्री बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकाले कुश्मा आधुनिक शहरको रुपमा विकास हुन थालेको जोशीले बताए।
शहरी विकास कार्यालय बागलुङलाई कुश्मा नगरपालिकाले प्रारम्भिक चरणमा गर्नुपर्ने कामको सूची तयार पारेर दिने तयारी गरेको छ । बसपार्क तीन तल्लाको निर्माण हुने गरी डिपिआर तयार भएको छ । भूइँतलामा ठूला बस, पहिलो तलामा सभाहल, दोस्रो तलामा साना सवारी पार्किङ गरिने र तेस्रो तलामा १५० जनाभन्दा बढी मानिस अट्ने हल निर्माण गरिने भएको छ। सबै काम सम्पन्न गर्न करिब एक रु अर्ब बजेट लाग्ने गरी डिपिआर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए।