चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले औपचारिक नेपाल भ्रमणका लागि काठमाडौंमा छन् । २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वेइ विशेष विमानबाट काठमाडौं आएका हुन् ।
विमानस्थलमा मन्तव्य राख्दै मन्त्री वेइले आफू चीन र नेपालको मित्रतालाई अझ प्रगाढ बनाउन र यसबीचमा चिनियाँ र नेपालका सरकार प्रमुखको स्तरमा भएका सम्झौतालाई कार्यान्वयन गराउनका लागि नेपाल आएको बताएका छन् ।

चीन र नेपालीबीच भएका विभिन्न द्विपक्षीय सम्झौताहरुलाई कार्यान्वयनको चरणमा लैजान आफ्नो भ्रमण सफल हुने मन्त्री वेइले बताएका छन् । उनलाई विमानस्थलमा गृहमन्त्री राम बहादुर थापा बादलले स्वागत गरे ।

यसअघि विदेशी पाहुनालाई हात मिलाएर स्वागत गर्ने परम्परा रहेपनि आज अनौठो दृश्य देखिएको थियो । मन्त्री थापाले वेइलाई कुहिना ठोक्काएर स्वागत गरे । कोरोना महामारीका कारण यसो गरिएको हो ।

मन्त्री वेइले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने तालिका रहेको छ ।