प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको ।
सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा सिफारिस भएका पोखरेल नै भावि आईजीपीका एक्ला दाबेदार हुन् ।
डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
भावि आईजीपीपोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए। अन्यथा नभए उनी हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वत: प्रहरी नेतृत्वमा पुग्छन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन्।
यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन्।
प्रहरी महानिरीक्षक क्षत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए। तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका छन्।
पोखरेलका ब्याची सबै अहिले डिआइजी छन्। गृहको ओएन्डएम स्वीकृतिमा पोखरेलका ब्याची डिआइजी र हालका प्रहरी महानिरीक्षक क्षत्रीका ब्याचीले असन्तुष्टि जनाउँदै आएका थिए।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइनाताविश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् । उपप्रधानमन्त्री पोखरेल र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको दबाबमा मन्त्रिपरिषद्ले विश्वराजलाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो । ईश्वरकै दबाबमा विश्वराजलाई भावी प्रहरी महानिरीक्षक बनाउने योजना अनुसार बढुवा सिफारिस गरिएको भन्दै प्रहरी अधिकृतहरुले असन्तुष्टि जनाएका छन् ।
वैकल्पिक सूचीका विश्वराजवैकल्पिक सूचीका विश्वराज ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरीक्षक हुँदा उनको ब्याच (१०१ टोली) मा विश्वराज १८ औं वरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ वरियतामा रहेका पोखरेलले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।
तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनी एकल नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका थिए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि पोखरेल एआईजीमा बढुवा हुनेछन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बढुवा समितिका सदस्य–सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य हुन्छन् ।
संगठन प्रमुखलाई नटेर्ने विश्वराज१८ महिनाअघि नै भावी आईजीपीको टुंगो लाग्नेगरी बढुवा सिफारिस गरेपछि चेन अफ कमाण्डमा असर पर्ने जानकारहरु बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट भारतको नयाँ दिल्लीस्थित दूतावासमा सरुवा गर्दा पोखरेलले त्यहाँ जान अस्वीकार गरेका थिए । त्यतिवेला पोखरेल राजनीतिक पहुँचकै भरमा काठमाडौंँस्थित लागूऔषध नियन्त्रण व्यूरोमा हाजिर भए, तर दिल्ली गएनन् ।
‘१८ महिना अघि नै प्रहरी महानिरिक्षकको टुंगो लागेपछि रिपोर्टिङ लगायत चेन अफ कमाण्डमा असर पर्छ’ नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘संगठन प्रमुखलाई विश्वराजले नटेर्ने र अरु अधिकृत उनीसँग मात्रै बफादार हुने अवस्था आउँछ ।’ उनको बढुवा सिफारिसले प्रतिस्पर्धी भावना पनि हटेको छ । आफ्ना ब्याचका अधिकृतमा प्रतिस्पर्धी भावना नहुँदा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा समेत असर पर्ने प्रहरी अधिकृतहरु बताउँछन् ।
गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले एआईजीको एक र डीआईजीमा ५ वटा पद थपेर नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पारित गरेको थियो ।
यो बढुवा सिफारिससँगै खाली भएका रिक्त दरबन्दी पूर्तिको बाटो खुलेको छ । सरकारले मंसिर ४ गते एक एआईजी र पाँच डीआईजीको दरबन्दी प्रहरी किताबखानामा दर्ता गरेको थियो ।
सरकारले थपिएको एआईजी दरबन्दीमा डीआईजी पोखेरल सिफारिस भएपछि एक जना थप डीआईजीको दरवन्दी खाली भएको छ । अब नयाँ एक, पुराना खाली तीन र हाल थपिएको पाँच गरी ९ जना डीआईजी दरवन्दी खाली हुनेछन् । खाली दरवन्दीमा कस्लाई सिफारिस गर्ने भन्ने टुंगो बढुवा समितिको बैठकले निर्धारण गर्ने जानकारी समितिका एक सदस्यले बताए ।