नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले प्रस्तुत गरेका प्रस्तावमा छलफल हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली उपस्थित भएका छन् । उनले यसअघि गएको १७ गते बसेको सचिवालय बैठक पनि बहिष्कार गरेका थिए । ओलीले कुनै नयाँ सहमति नभएसम्म बैठकमा भाग नलिने अडान लिएका थिए ।
नेकपामा विवाद चर्किदै गएपछि कात्तिकको अन्तिम हप्ता बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बहुमत सचिवालय सदस्यको सहमतिमा पेश भएको प्रतिवेदनमा ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ ।
आफूविरुद्ध विभिन्न प्रश्नसहित पेश भएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै प्रचण्डको प्रतिवेदनको जवाफ पनि नदिने र बैठकमा छलफल पनि नहुने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा आफूलाई जवाफी प्रतिवेदन तयार गर्नका लागि १० दिनको समय माग गरेका थिए ।
१३ गतेको सचिवालयमा ओलीले नेपालको शान्ति प्रक्रियादेखिका विषयबस्तु समेटेर प्रचण्डको प्रस्तावविरुद्ध जवाफी प्रस्ताव पेश गरेका थिए । प्रचण्डले पार्टी एकतापछिका गतिविधिमात्र समेटेकोमा ओलीले शान्ति प्रक्रियापछिका विभिन्न विषयमा प्रश्न उठाएका छन् ।
प्रतिवेदन पेश गरेपछि ओलीले १६ गतेको बैठकमा प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने र सचिवालय बैठकको औचित्य नभएको बताएका थिए । ओलीले बहुमतको निर्णय पनि नमान्ने भन्दै १७ गतेको सचिवालय बैठक बहिष्कार गरेका थिए ।
प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले २० गते अर्थात आजसम्मका लागि सचिवालय बैठक स्थगित गरेको थियो । १८ गते बस्ने तय भएको स्थायी कमिटी बैठक भोलि आइतबारका लागि बोलाइएको छ । यसअघि नै नेकपा केन्द्रीय कमिटी बैठक २५ गतेका लागि बोलाइसकिएको छ ।