Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुहान विवाद

मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण औलामा सिँचाइ आयोजना अन्योलमा

मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण औलामा सिँचाइ आयोजना अन्योलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २३, २०७७ मंगलवार • ११:०५:२४ बजे
  • 1.7K
    SHARES
  • मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण औलामा सिँचाइ आयोजना अन्योलमा
     मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ ।

    खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

    विसं २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम शुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताउनुभयो । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण शुरु हुन नसकेको हो ।

    दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो । औला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अवरोध गरिएको दुखेसो पोख्नुभयो । “खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाइएको”, उहाँले भन्नुभयो, “वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौँ भन्दा पनि दिइएन । वास्तविक कुरा के हो बुझ्नै सकिएन ।”

    खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताउनुभयो । उहाँका अनुसार दुई हजार ४५० मिटर मुख्य पाइपलाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पाँच वटा शाखा पाइपलाइन बनाएर सिँचाइका लागि पानी वितरण गर्ने योजना छ ।

    चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । अन्नपूर्ण–७ का वडाध्यक्ष गमप्रसाद फगामीले रिमावासीलाई मनाएर सिँचाइ आयोजना निर्माणमा भएको अवरोध हटाउने बताउनुभयो । “औलामा कृषिको विकासका लागि सिँचाइ प्रमुख आवश्यकता हो”, उहाँले भन्नुभयो, “वडा र पालिकाको तर्फबाट तत्कालै छलफल गरेर काम गर्ने वातावरण बनाउछौँ ।”

    औलाका डेढ सय घरधुरी कृषकले सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको गुनासो गरेका छन् । “गाउँ नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ”, स्थानीय दिपक पाइजाले भन्नुभयो, “सिँचाइ नभएर हाम्रा खेतबारी बाँझै छन् ।” यहाँका स्थानीयवासील बर्खामा आकाशे पानी र मूलको पानीको भरमा धान खेती गर्छन् । खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाए पनि आकाशबाट पानी नपरे न्यून मात्रामा उत्पादन हुन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology