नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुने भएको छ । हिजोको स्थायी समिति बैठकमा सहमति गर्दै दुबै पक्ष एक कदम पछि हटेसँगै थप संवाद सुरु भएको हो ।
नेकपामा आन्तरिक विवाद चलिरहेको समयमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि परिस्थिति थप गर्माहट भएको थियो । त्यसको काउन्टरमा प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसद अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा पुगेपछि सहमतिको वातावरण बनेको हो ।
आज अध्यक्षद्वयबीच हुने छलफलपछि परिषद्को बैठक र संवैधानिक नियुक्तिका विषयमा निर्णयमा पुग्ने बालुवाटार स्रोतले बताएको छ । हिजोको बैठकमा नियुक्तिहरु पार्टीमा छलफल र सहमतिपछि मात्रै गर्न ओली सहमत भएका थिए ।