नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् ।
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने निर्णय सार्वजनिक भएपछि ओलीले आफु पक्षका नेताहरुलाई बालुवाटार डाकेका हुन ।
त्यहाँ उनले अबको परिस्थिति र पार्टीभित्रै बहुमत जुटाउन नसके अर्को पार्टी बनाएर वैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जाने तयारीका लागि निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा विघटनपछि नेकपाकै इतर पक्ष र अरू राजनीतिक दलहरूबीचको कार्यगत एकता र निम्तिने सम्भावित संकटको पनि प्रतिवादका लागि ओली पक्षले रणनीति बनाउने स्रोतको भनाइ छ ।
यता दाहाल–नेपाल समूह पनि वारपारको तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ ।
ओलीइतरका सदस्यहरूलाई डाकिएको उक्त भेलामा विशेषाधिकारमार्फत प्रतिनिधिसभा जगाउनेदेखि लिएर न्यायालयमार्फत र सडकमार्फत ओलीसँग लड्ने योजना बनाउने तयारी गरेको छ ।
सोही भेलामा मंगलबार डाकिएको ‘आकस्मिक’ केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल गर्ने तयारी भएको सो समूहका एक नेताले जानकारी दिए ।
नेकपामा पार्टी एकताका बेला आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने ओली र दाहालबीचको समझ्दारी सार्वजनिक भएलगत्तै गत वर्षको मंसिरदेखि बढेको असमझ्दारी पार्टी सञ्चालन र सरकार सञ्चालन तथा विभिन्न नियुक्तिका विवादसँगै चरमोत्कर्षमा पुगेको थियो ।
तिनै विवाद शिखरमा पुगेका बेला आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रतिनिधिसभा विघटनपछि मुलुकको राजनीति तनावपूर्ण बनेको छ ।