रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ ।
किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिलले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो ।
उक्त मिलले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार रु १६ करोड ४४ लाख ७० हजार र आइतबार रु आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ । मिलले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम रु ३५ करोड रहेको छ । अझै मिलले रु १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड बाँकी रहेको छ ।
गत वर्षको पुस १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । लुम्बिनी चिनी मिलले आइतबारदेखि दैनिक रु एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ ।