नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमा केन्द्रीय समिति बैठक हुँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै समय र स्थानमा बैठक बोलाएका छन् ।
दुई समूहले बोलाएको बैठकमा गृहमन्त्री तथा नेकपाको सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कता सहभागी हुने हुन् ? भन्ने चासोको विषय बनेको छ ।
प्रचण्ड र माधव नेपाल समूहका सात मन्त्रीले राजीनामा दिएपनि बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । राजीनामा नदिएर ओलीको पक्षमा उभिएका बादललाई उनी निकटस्थहरुले प्रतिनिधि सभा विघटनको निर्णयको औपचारिक रुपमा विरोध गर्न र मन्त्री पदबाट तुरुन्त राजिनामा दिन दबाब दिएका छन् ।
गृहमन्त्री थापाले सोमबार विहान मन्त्रीनिवास पुल्चोकमा बोलाएका आफूपक्षीय नेताहरुको बैठकमा नेताहरुले मन्त्रीबाट राजिनामाका लागि दबाब दिएका हुन् ।
भेलामा सहभागी थापा पक्षीय एक नेताका अनुसार उनलाई अधिकांशले मन्त्रीबाट राजिनामा दिएर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग सहकार्य गर्न दबाब दिएका छन् ।
जबाफमा गृहमन्त्री थापाले पार्टीमा जारी विवादमा अब बीचमा बस्ने समय नरहेको जवाफ दिएका छन् । उनले प्रतिनिधिसभा विघटनपछि कुनै धारणा सार्वजनिक गरेका छैनन् । उनले प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको बताइदै आइएको छ ।
सोमबारको भेलाबाट भने गृहमन्त्री थापालाई प्रचण्डको समूहमा लाग्न दबाब बढेको छ । भेलामा सहभागी सबै नेताहरुले प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक र प्रतिगामी भएकोले निष्कर्ष निकालेको छ ।
‘हामीले गृहमन्त्रीबाट तुरुन्त राजिनामा दिन र प्रचण्डसँगै छलफल गरेर अगाडि बढ्न सुझाव दिएका छौँ’ भेलामा सहभागी एक नेताले भने, ‘उहाँले अब बीचमा बस्ने ठाउँ सकियो, तपाईंहरुको सुझाब अनुसार नै म निर्णय गर्छु, छिट्टै कित्ता क्लियर हुन्छ भन्नुभएको छ ।’
भेलामा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायत रहेका थिए।
स्रोतका अनुसार, गृहमन्त्री बादल कुनै पनि बैठकमा जाने छैनन् । उनले तत्काल राजीनामा पनि नदिने बताइएको छ । ओलीले सोमबार गरेको बालुवाटार बैठकमा पनि बादल सहभागी भएनन् । भट्ट भने सहभागी थिए ।