नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।
आज बिहान ११ बजे उनले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–माधव समूहका मन्त्रीहरुले राजीनामा दिएपनि थापाले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
पछिल्लो समय नेकपामा गुट–उपगुट र आ–आफ्नै पक्षका भेलाहरू भए पनि गृहमन्त्री बादल कुनै पनि पक्षमा खुलेर लागेका छैनन् । उनलाई फकाउन प्रचण्ड र ओली दुवै पक्षले निरन्तर प्रयास गरिरहेका थिए।
मंगलबार प्रचण्डले पनि बादललाई भेटेर आफ्नो पक्षमा लाग्न र आफूहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। त्यस्तै संसद विघटन गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओलीले बादललाई निवासमै गएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।
थापाकै समूहका सांसद तथा नेताहरुले पनि बादललाई प्रचण्डसँग मिल्न दवाव दिइरहेका छन् । तर, उनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन् । मंगलबार थापा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए ।