बादल फाट्यो की फाटेन ?’
धेरै समयदेखिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्वमाओवादी समूहभित्र चलिरहने एउटा प्रसँग हो यो ।
‘बादल अब फाट्ला जस्तो छ । तर भर छैन ।’
यसै मेसोमा यो पनि चर्चा हुने गथ्र्यो ।
बिहीबार विहान बादल फाट्यो । अर्थात नेकपाको सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बालुवाटार पुगे । र, आफूलाई नेकपा विभाजनमा केपी शर्मा ओली नेतृत्वको समूहमा उभ्याए । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समदुरीमा रहँदा उनको कित्ता कुन पट्टि हुन्छ भन्ने प्रसँगका लागि भनिथ्यो ‘बादल कहिले फाट्छ ?’
कुनै समयमा प्रचण्डसँग एउटै ओछ्यानमा सुत्ने बादलले राजनीतिक जीवनमा दोस्रोपटक प्रचण्डसँग सम्बन्ध विच्छेद गरेका छन् । यसअघि तात्कालीन माओवादी विभाजित हुँदा उनी मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहमा लागेका थिए । वैद्यसँग चोइटिएर उनी पुनः प्रचण्ड नेतृत्वकै पार्टीमा आएका थिए । त्यसपछि उनी नेकपाभित्र ‘बादल समूह’को नेता थिए ।
२०७४ को प्रतिनिधिसभा, प्रदेशसभाको चुनावमा बादल समूहका अधिकांश नेताहरुलाई प्रचण्डले टिकट दिए । एकाधबाहेकले जिते पनि । पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेर बादलले नै सरकारको नेतृत्व गरे । प्रदेशहरुमा पनि उनी पक्षीय नेताहरुलाई राजकीय पदको अभाव भएन । अर्थात आफूपक्षीय नेताहरुलाई अवसर दिलाउन बादल सफल ठानिए । र, उनको समूह बलियो अवस्थामा भयो ।
जस्तो कि देव गुरुङ, पम्फा भुषाल, यशोदा सुबेदी गुरुङ, अमृता थापामगर, सुरेश कुमार किराँतीलगायत प्रतिनिधिसभा सदस्य बने । कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशको आन्तरिक मामिलामन्त्री, पूर्ण घर्ती लुम्बिनी कै सभामुख, नरेश भण्डारी कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्री, इन्द्र आङबो ९मौसम० प्रदेश १ को अर्थमन्त्री, हरिमान चुमान गण्डकी प्रदेशको आन्तरिक मन्त्री बने । नेकपाको केन्द्रीय कार्यालयको दुई सचिवमध्ये श्रीराम ढकाल बादल समूहकै थिए । उनको समूहका थुप्रै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख बने ।
नेकपाको केन्द्रीय समितिमा बादल समूहबाट ३३ जना थिए ।
बिहिबार नेकपाको दुवै समूहको बैठक एकै समयमा बस्यो । प्रचण्ड–माधव समूहको बबरमहलमा र ओली समूहको प्रधानमन्त्री निवास बालुवाटारमा । बादल बालुवाटारमा प्रकट भए । तर, आफ्नो पूर्ववत समूहबाट एक्लै । उनी बालुवाटारमा एक्लो उभिरहँदा उनको समूहका सबै केन्द्रीय नेताहरु प्रचण्ड–माधव समूहमा सहभागी भए ।
बादलको अति निकट नेता सूर्य सुबेदी ‘पथिक’ र कुलप्रसाद केसी बुधबार साँझसम्म बादलसँगै थिए । तर, बिहीबार विहान केसी र सुबेदीले पनि विदाईको हात हल्लाइदिएपछि उनी एक्लै बालुवाटारतिर लागे । बादलको लागि जीवनको सबैभन्दा दुःखद क्षण आजकै दिन हुनुपर्दछ । उनी जंगलमा छाडिएका बुढो बाघ जस्तो भए ।
आफ्ना सम्पूर्ण सहकर्मीबाट विश्वास गुमाउने अवस्थामा कसरी पुगे बादल रु उनी स्वेच्छाले ओलीतिर लागे वा कुनै बाध्यता छ । धेरैले यसमा संसय व्यक्त गरेका छन् ।
बादल माओवादी जनयुद्ध सुरु हुनुपूर्व रोल्पा, रुकुममा गएर संगठन निर्माण गरेका थिए । त्यत्तिबेला सिस्ने जलजला अभियान चलाइएको थियो । त्यसबखत बादलले गरेका भाषणमध्ये एउटा वाक्य अहिले पनि त्यस भेगमा चर्चामा छ । उनले आफूलाई महान् क्रान्तिकारी भएको पुष्टि गर्न भन्ने गर्थे, ‘यदि म सहिद भएँ भने मेरो पार्थीव शरिरलाई जलजलाको शीरमा लिएर गाडी दिनु ।’
तात्कालीन माओवादी विभाजनमा वैद्य समूहमा लाग्दा बादलले प्रचण्डलाई ‘लाल गद्दार’ र ‘रअ को एजेण्ट’ घोषणा गरेका थिए । प्रचण्ड संसदीय व्यवस्थाको भासिएको आरोप लगाएर उनले ‘लाल गद्दार’ घोषणा गरेका थिए । र, उनी ‘क्रान्तिका लागि’ भन्दै वैद्य समूहमा लागेका थिए ।
उनी पछि आफैले ‘लाल गद्दार’ घोषणा गरेको प्रचण्डको नेतृत्वमा फर्किए । र, लाभको यात्रा सुरु गरे ।
बादलले नेकपामा आफू व्यक्तिगत समूहहरुको नेतामात्र नभइ एक विचार समूहकै नेताको रुपमा व्याख्या गर्दै आएका थिए । उनको व्याख्या सुन्नेहरुका अनुसार उनले नेकपाभित्र तीनवटा विचार समूह भएको बताउँथे ।
पहिलो, ओली समूह । उनले अध्यक्ष ओलीले नेकपाभित्र दक्षिणपन्थी समूहको नेतृत्व गर्ने गरेको व्याख्या गर्थे ।
दोस्रो, प्रचण्ड समूह । प्रचण्डले नेकपाभित्र सुधारवादी समूहको नेतृत्व गर्ने बादलको व्याख्या थियो ।
तेस्रो, आफ्नो समूह । उनले नेकपाभित्र आफ्नो तेस्रो विचार समूह रहेको व्याख्या गर्दै, आफू नेतृत्वको समूह नेकपाभित्रको क्रान्तिकारी समूह भएको दाबी गर्थे ।
राजनीतिक रुपमा दक्षिणपन्थी समूह र सुधारवादीबीचमा वा सुधारवादी र क्रान्तिकारीबीचमा सहकार्य वा एकता हुनुलाई स्वभावक मान्न सकिन्छ । यस आधारमा बादलको सहकार्य प्रचण्ड–माधव समूहसँगै हुनुपर्ने हो । तर, उनले आफूलाई आफैले दक्षिणपन्थी समूहको नेता घोषणा गरेका ओली समूहमा बिलिन बनाए । त्यो पनि संयोग नै सहि ‘र अ’का प्रमुखको अपारदर्शी भ्रमण, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखको भ्रमणपछि उत्पन्न राजनीतिक घटनाक्रमपछि ।
बादलले ओलीसँग वैचारिक निकटताका कारण होइन बाध्यात्मक सहकार्य गरेको सहजै बुझ्न सकिन्छ । आफ्ना सारा सहयात्रीहरुको विश्वास गुमाएर उनी किन ओलीतिर लागे ? विस्तारै पर्दा खुल्दै जानेछ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सदर गर्यो भने ओली सरकार चुनावी सरकारको रुपमा रहनेछ । यो सरकारमा बादल गृहमन्त्रीमा निरन्तर रहनेछन् । उनी गृहमन्त्री भए नभएको आभाष जनताले पाउन भने सकेका छैनन् । तर, पनि उनी अझै केही समय गृहमन्त्री भइरहनेछन् ।
यसअघिका बादल निकटका केही नेता उनी ओलीतिर लाग्नुको एउटा कारण गृहमन्त्रीको मोह मान्छन् । कतिपय केहीं प्रावधिक समस्या हुन सक्ने पनि मान्छन् । जस्तो सुकै कारण भए पनि बादल आफैले दक्षिणपन्थी घोषणा गरेका ओलीसँग लागेका छन् ।
कतिपयले बादलको यो कदमलाई गोरेबहादुुर खपाङ्गी पथ पनि मानेका छन् । नेकपा (माले)बाट राजनीतिक यात्रा सुरु गरेका खपाङ्गी खरो र तार्किक थिए । निकै क्रान्तिकारी देखिने उनी माले संशोधनवादी भएको भन्दै आफैले राष्ट्रिय जनमुक्ति पार्टी बनाए । जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षताको एजेण्डा लिएर उनी चुनावमा पनि प्रतिस्पर्धा गरे ।
खपाङ्गीले दशैँ बाहुनको चाड भएको भन्दै नेपाल मगर संघमार्फत देशैभर दशैँ बहिस्कारको अभियान चलाए । तर, उनै खपाङ्गी तात्कालीन राजा ज्ञानेन्द्र शाहको शाही शासन कालमा २०५९ सालमा दरबार छिरेर महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बने । क्रान्तिकारी छविका खपाङ्गी शाही मन्त्रीमात्रै बनेनन्, आफैले चलाएको दशैँ बहिस्कारको अभियानलाई तिलाञ्जली दिएर राजाको हातबाट दशैँ टिका थापे । खपाङ्गीको २०७० भदौ ११ गते निधन भयो ।
बादल पनि ‘केपी ओली शासन’मा लागेका छन् । फरक त्यत्ति हो, खपाङ्गी शाही शासनका पहरेदार थिए, बादल ‘ओली शासन’को पहरेदार बनेका छन् ।
खपाङ्गी ८ महिना मन्त्री बनेका थिए । तर, उनको दरबारसँग सम्बन्ध राम्रो रहन सकेन । र, पछि पुनः जातीय मुक्तिको नारा लिएर पुरानै राजनीतिमा फर्किए । तर, समय धेरै पर पुगिसकेको थियो ।
२०७० मा नवलपरासीमा भएको राष्ट्रिय जनमुक्ति पार्टीको चौथो महाधिवेशनमा पराजित भएपछि खपाङ्गीले डेमोक्रेटिक पार्टी दर्ता गराए । उनको पार्टीले २०७० को संविभानसभा निर्वाचनमा देशैभरबाट ३ हजार ७२१ भोटमात्रै ल्यायो ।
संयोगले खपाङ्गी पनि मगरको छोरो थिए । बादल पनि मगरको छोरो हुन् ।
बादलले केपी ओलीसँग कति लामो यात्रा गर्छन्, यो त अझै संसयमै छ । यसअघिका उनी निकट नेता भन्छन्, ‘कुनै पनि समय बादल प्रचण्ड–माधव समूहमा फर्किहाले भने अचम्म नमान्दा हुन्छ ।’
बादलको पनि खपाङ्गी कै नियति नहोस् ।