प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् ।नेकपामा देखिएको विवाद प्रदेश सरकारहरुमा समेत पर्न थालेका छन् ।आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेको बताए ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्वो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेको उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई खेमामा विभाजित छ ।
प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् । दाहाल–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको छ ।