नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ ।
यस प्रदेशमा ओली र दाहाल–नेपाल पक्षका स्पष्ट गुट छन् । प्रदेशका प्रभावशाली नेता लेखराज भट्टले दाहालको साथ छाडेपछि यहाँको राजनीति पेचिलो बनेको छ । राजनीतिक समीकरण यस्तै हुने भनी अहिल्यै यकिन गर्न सकिने अवस्था छैन । भट्ट ओलीतिर लागेकै कारण कैयौं नेता–कार्यकर्ता दुवैतिर नखुलेर मौन बसेका छन् ।
मौन बसेका र अन्योलमा रहेका नेता–कार्यकर्तालाई मात्र नभई प्रदेश सांसदलाई पनि आफूतिर तान्न दुवै पक्ष सक्रिय छन् । सुदूरपश्चिममा प्रदेशसभामा नेकपाका ३९ सदस्य छन् । तीमध्ये पूर्वएमालेबाट २५ र पूर्वमाओवादी केन्द्रबाट १४ जना छन् ।
ओली पक्षका तीनजनाबाहेक माओवादी केन्द्रबाट सदस्य भएका सबैजना आफूतिर भएको भन्दै दाहाल–नेपाल पक्षका नेताले दाबी गरिरहेका बेला ओली पक्षतिर सांसदको संख्या बढ्दै गएकाले सो पक्ष उत्साहित बनेको छ । ३९ मध्ये १३ जना आफूतिर खुलिसकेको ओली पक्षको दाबी छ । ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनीत भएका पूर्वमाओवादी केन्द्रतर्फका सांसद महेशदत्त जोशीले आफूहरूको पक्षमा १३ जना पुगिसकेको बताए ।
पठानसिंह बोहरा, नेपालु चौधरी र रतन थापा ओली पक्षका सांसद हुन् । यसैगरी लीलाधर भट्ट पनि ओली पक्षतर्फै खुलेका छन् । पूर्वमाओवादी केन्द्र खेमाका सांसदहरू पनि ओली पक्षतर्फ खुल्ने क्रम बढेको छ । नेकपाका केही सांसद भने मौन छन् ।
‘हामीतर्फ १३ जना पुगिसकेका छन्, १५ जना पुग्ने सम्भावना छ,’ ओली पक्षका एक केन्द्रीय सदस्यले भने, ‘प्रदेशसभामा दाहाल–नेपाल पक्ष अल्पमतमा परेको छ ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।