प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा प्रारम्भमा ३७ जना सांसदले हस्ताक्षर गरेको स्रोतले जनाएको छ । अन्य सांसदहरुले पछि हस्ताक्षर गर्ने बुझिएको छ ।
नेकपाको प्रचण्ड माधव पक्षले दर्ता गराएको प्रस्तावमा मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित गरिएको छ ।
आज संसद सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको थियो ।
उक्त प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहनु भएको छ । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।
यस अघि हिजो मुख्यमन्त्री राईले अर्थमन्त्री ईन्द्रलाई बर्खास्त गरेका थिए भने आज एक मन्त्री र दई राज्यमन्त्रीले राजीनामा दिएका थिए ।
यसैबीच, प्रदेश १ सभाको हिउदे अधिवेशन माघ ७ गते दिउसो बोलाउने निर्णय सरकारले गरेको छ । यो प्रस्ताव प्रदेश प्रमुख समक्ष सिफारीस भएको छ ।