Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तिम प्रयास जारी

नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तिम प्रयास जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७७ सोमवार • १०:४७:५९ बजे
  • 1.3K
    SHARES
  • नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टीको अन्तिम प्रयास जारी

    फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ ।

    images

    पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक–अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन् । दाहालले आफ्नो खेमामा ओलीको साटो माधवकुमार नेपाललाई अध्यक्ष बनाइसकेका छन् ।

    दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ । राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गर्ने स्रोतले जनाएको छ।

    नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो। चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो ।

    चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ । सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ। उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन् । राजदूत होउले उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय गरेकी छन् । तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन । दुतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन मानेन ।

    उपमन्त्री येचौ नेतृत्वको टोली आइतबार अपराह्न चाइना एयरको ४३७ उडानबाट काठमाडौं आएको हो । चिनियाँ राजदूत होउले चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । विमानस्थलबाट उक्त टोली सीधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको थियो ।

    उपमन्त्री येचौको टोलीले नेकपाका दुई खेमामा विभाजित नेतासँग एकताका लागि ‘दबाब दिने’ स्रोतले बताएको छ । टोलीले नेकपा नेता दाहालसहित उक्त खेमाका नेपाल, कृष्णबहादुर महरालगायतसँग पनि भेट्ने कार्यक्रम छ ।

    सिंगो नेकपा हुँदाका विदेश विभाग उपप्रमुख राम कार्कीले पार्टीभित्र देखिएको पछिल्लो अवस्थाप्रति चिनियाँ कम्युनिस्ट पार्टी जानकार रहेको र सोही विषयमा छलफल गर्न टोली नेपाल आएको बताए । कार्कीले दक्षिण एसियाली मुलुकका कम्युनिस्ट नेताबीच निरन्तर छलफल र बैठक हुने गरेको पनि बताए । ‘नेकपाभित्रको विवादबारे हामी चिनियाँ प्रतिनिधिमण्डललाई आफ्ना कुरा राख्छौं’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘हाम्रो आन्तरिक विवादबारे उनीहरूलाई पहिल्यैबाट जानकारी गराउँदै आएका पनि छौं । उनीहरूसँगको बैठकमा नेकपाभित्रको पछिल्लो अवस्थाबारे गम्भीर छलफल गर्छौं ।’

    चार दिन काठमाडौंमा रहने चिनियाँ टोलीले नेकपाभित्रको विवाद मत्थर गरी एक गराउने प्रयासमा रहेको स्रोतले बताएको छ । नेकपा जुटेको र फुटेको हेर्न नचाहने शक्तिराष्ट्रहरूले नेपालभित्र र बाहिर गर्ने गतिविधिले भने मुलुकको सार्वभौमिकता र आन्तरिक सुरक्षामा गम्भीर असर पार्न सक्ने विश्लेषकहरूले जनाएका छन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # चिनियाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology