पौष १५, २०७७ बुधवार
•
१३:५३:३५ बजे
रामचन्द्र तिम्सिना
(आवाज)
सर्वप्रथम त आज परेको उधौली पर्ब, धान्य पूर्णिमा, तमु ल्होसार, योमरी पुन्हि एवम् ज्यापू दिवस तथा अविस्मरणीय दिन पुष १५ बनभोज खाने दिनको एकमुस्ट शुभकामना सबैमा ।
अतीत अतीत नै हुन्छ । त्यही माथी अवोध बालापनका यादहरु झन सम्झिन लायक हुन्छन् । जस्तै गुच्चा, चुंगी, डण्डिबियो, कबर्दी, भाले जुधाई वा अन्य खेल र घटना सम्झिन लायकका छन् ।
आज म आफ्नै बाल्यकालको आजैका दिनमा प्रवेश गर्न चाहन्छु। आज भन्दा लगभग ३० बर्ष अघिको घटना २०४५ साल तिरको कुरा हो।
त्यतिबेला म भर्खर १० बर्षको चंचले बालक थिए।
मस्तिष्कमा नयाँ कुरा खाने, नयाँ लाउने र नयाँ कुरा गर्ने बालहठ सबैमा हुन्छ र त्यो म भित्र पनि थियो।अहिलेको जस्तो पैसा, चामल ,मासु ,चकलेट र बिस्कुट जस्ता यावत कुराहरुको त्यति बेला सहज उपलब्धता थिएन। त्यो दिन अचानक खेल्ने क्रममा दिउँसो एकजना साथिले भन्यो ओई आज हामी पनि बनभोज खान जाऊ ?
प्रस्ताव निकै रोमाञ्चक थियो।मैले कौतुहलता पस्किदै भने जान त जाने के लाने र कहाँ जाने ? टाढा नजाने यहीँ नजिकै बारिको कुना तिर जाने एउटा साथिले मेरो कौतुहलता मेटायो। जान राजी पनि भैयो हामी मध्य कै एकजना १/२ बर्ष जेठो दाई पनि संगै थियो उसैले कस्को घरबाट के ल्याउने भन्ने भाग लगायो।मेरो भागमा चामल र मसला ल्याउने पर्यो। घरमा आए तर सनुस (मधुस) खुल्ला थिएन।
अहिले जस्तो बोराको चलन खासै थिएन त्यति बेला आमाले चामल डालोमा भरेर मरमसला सहित भित्र राख्नु हुन्थ्यो।
जानू त थियो नै ! त्यो भन्दा ठूलो कुरो लानु पनि थियो। धेरै मिहेनत प्रयत्न गरियो खोल्न सकिन।"पुष फासफुस" भन्ने उखानै छ ५ बज्दा नबज्दै झमक्क साँझ पर्छ।३ बजि सकेको थियो। एकाएक अल्लारे बुद्धि पलायो काका बाउले हलो बनाउने गर्नु हुन्थ्यो । उनैको रामो र बसिला लिएर आए बुद्धि पनि थियो तत्काल थाहा नपाओस भनेर अगाडी ताला थियो पछाडी पट्टि प्वाल पारेर ३ माना चामल र अलिकति मसला लिएर गएँ।
साथी भाई जम्मा भैयो ढुंगे चुलोमा मकैको ढोंड बालेर जानेको पकाईयो। दालको चलन खासै थिएन । रायोको सागमा तन्द्रङ्ग झोल हालेर खाँदा खुब स्वादिलो पनि भयो। रित्तो थाल ठटाएर गित गाईयो, स्याल कराउँदै घर आईयो। यता आमा चिन्तित बनेर रिसले आगो हुनुहुन्थ्यो । नहोस पनि कसरी रातको आठ बजिसकेको थियो । गाउँघर सुनशान भैसकेको थियो। हातमा लिनु भएको गोरु पिट्ने लौरिले पिडौंलामा सुम्ला उठ्ने गरि हान्नु भएको याद आजसम्म पनि ताजै छ।
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सिधैं बैकुण्ठ जाला।