सत्तारुढ नेकपामा राजनीतिक विभाजनपछि प्रचण्डमाधव पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ । पार्टी एकता भएसँगै बैंक खाता एउटै बनाउने प्रक्रिया नपुगेकाले एमाले र माओवादीको खाता फरक फरक रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एक समूह र पुष्पकमल दाहाल तथा माधव कुमार नेपालको अर्को समूह नेकपामा बनेपछि प्रचण्डमाधव समूहले बैंक खाता रोक्न पत्र लेखेको हो । उनीहरुले सम्बन्धित ठाउँमा पत्र पठाइसकेका बताइएको छ ।
तत्कालीन एमालेको बैंक खाता कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका कर्मचारी खेम पौडेलको नाममा थियो । अहिले नेताहरु रिमाल र श्रेष्ठ दुबै ओली पक्षका हुन् ।