Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली-प्रचण्डबीच तिक्तता झन् बढ्यो, अब के हुन्छ नेकपा ?

ओली-प्रचण्डबीच तिक्तता झन् बढ्यो, अब के हुन्छ नेकपा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७७ बिहिवार • ०८:२०:२७ बजे
  • 1.7K
    SHARES
  • ओली-प्रचण्डबीच तिक्तता झन् बढ्यो, अब के हुन्छ नेकपा ?

    नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुधबार तिक्त संवाद भएको छ। पार्टी एकतामा गम्भीर संकट देखिएको भन्दै सहमतिको विकल्प पहिल्याउन ओली–प्रचण्डको तीन दिनदेखिको ‘वान अन वान’ वार्ता पछिल्लोपटक तिक्ततामा रूपान्तरण भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

    images

    छलफल निष्कर्षमा पुर्‍याउने उद्देश्यले बुधबार डाकिएको स्थायी कमिटी बैठक चौथोपटक शुक्रबारसम्म स्थगित गरेर सहयोगी नेताहरूविनै सहमति पहिल्याउन उनीहरूले संवादलाई निरन्तरता दिए पनि पछिल्लो छलफलबाट दुवै नेता अर्कोपटक छलफल गर्ने कि नगर्ने समझदारीसमेत नगरी तिक्त संवादकै बीचमा उठेका छन्।

    बुधबारको छलफलमा पनि पुरानै बटमलाइन सुनाएर ओली र प्रचण्ड संवाद टुंग्याएर उठेका छन् । प्रचण्डले पार्टी एकता जोगाउनका लागि सहमति अपरिहार्य भएकाले दुईमध्ये कुनै एउटा पद त्याग गरेर निकास दिन पुरानै प्रस्ताव दोहोर्‍याएका थिए।

    जवाफमा प्रधानमन्त्री ओलीले एक्लै अध्यक्ष बन्नका लागि एकता महाधिवेशन र प्रधानमन्त्री बन्ने हो भने जनादेशका लागि अर्को चुनावसम्म कुर्नुपर्ने बताएका थिए।

    ‘पार्टी एकता कायम राख्ने हो भने त्यस्ता कुरा छोडिदिनुस्, एक्लै अध्यक्ष हुने चाहना छ भने महाधिवेशनपछि हुनुस्, प्रधानमन्त्री हुन मन लागे चुनावपछि भए हुन्छ, मैले दुवै पदमा अब दोहोर्‍याएर हुन्न भनेको छु, प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्रीले फेरि त्यसैगरी उपेक्षा गर्नुभएछ,’ एक सचिवालय सदस्यले भने।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ उनीहरूबीच डेढ घन्टा छलफल भएको थियो। अध्यक्ष प्रचण्डले सडकमा मदन भण्डारी फाउन्डेसन, स्पोर्टस् एकेडेमीका पदाधिकारी र युवा–विद्यार्थीलाई योजनाबद्ध आफ्नो पक्षमा प्रदर्शन गर्न लगाएर आफूसहितका नेताहरूको हुर्मत लिने क्रम नरोकिएको भन्दै आपत्ति जनाएपछि तिक्त संवाद भएको सचिवालयका एक नेताले बताए।

    ओलीको समर्थनमा बुधबार काठमाडौंका कोटेश्वर, कलंकी, न्युरोड, बालाजु, चाबहिलसहित ६ स्थान तथा उपत्यकाबाहिर पनि कतिपय जिल्लामा प्रदर्शन भएको थियो । त्यस्तो प्रदर्शनले भिडन्त निम्त्याउने र पार्टी एकता झन् संकटमा पर्ने भन्दै प्रचण्डले बुधबारको छलफलमा आपत्ति जनाएका थिए।

    ‘मैले हिजै सडकको प्रदर्शन रोक्नुपर्‍यो भनेको थिएँ, तर आज त झन् धेरै ठाउँमा गर्न लगाएर अरू नेताहरूलाई गालीगलौज गर्दै हुर्मत लिइएको छ, पार्टी एकता संकटमा परेका कारण सहमति गर्न छलफल चलिरहेका वेला तपाईंले सडकबाट के गर्न खोजेको?’ प्रचण्डको यस्तो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले गुटबन्दीमार्फत घेराबन्दी गरेर वैधानिक अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन खोज्दा सडकमा स्वतस्फुर्त प्रदर्शन हुने कुरा स्वाभाविक भएको जवाफ फर्काएका थिए।

    ‘निर्वाचित देशको प्रधानमन्त्रीलाई, पार्टी अध्यक्षलाई गुटबन्दी र घेराबन्दी गरेर हटाउन खोजेपछि युवा–विद्यार्थीले प्रदर्शन किन गर्दैनन्? स्वतस्फुर्त भइरहेकाले मैले भनेर रोकिने पनि होइन,’ 

    प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने अडानमा छ । तर, ओली दुवै पद छाड्ने पक्षमा छैनन् । यही विवादले १७ असारपछि लगातार स्थायी कमिटीको बैठक स्थगित छ । बुधबार बोलाइएको बैठक शुक्रबारका लागि स्थगित भएको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology