Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"म भ्यु टावर चढिरहेछु"

"म भ्यु टावर चढिरहेछु"

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १७, २०७७ शुक्रवार • ११:०८:४४ बजे
  • 1.7K
    SHARES
  • "म भ्यु टावर चढिरहेछु"
    कविता
    महाराज ! म भ्यु टावर चढिरहेछु
    मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट
    हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर 

    पहिलो तला
    जहाँबाट सिंगमरमर र मार्बलको भुइ टेकेर
    खास टाढा सम्म त केही देख्न सकिदैन
    तर युरोपियन सिसावाला  झ्यालबाट प्रष्ट सुनिन्छ
    एक भिखारीको रोदन, एक ठेलावालाको चीत्कार
    पोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरुको कर्कस 

    दोश्रो तला
    जहाँ बाट नजिकैको सडक पेटी र गल्लीहरु देखिन्छन
    काम र मामको आसामा चौबिसै घण्टा
    केही हात्ती छाप चप्पल र केही गोल्ड स्टार जुत्ताहरु
    केही बूढो स्टकोट र केही थोत्रा पाइजामाहरु
    खाली पेट भौतारिरहेका छन यता उता 

    तेस्रो तला
    जहाँबाट शहरको मध्य भाग सम्म चियाउन सकिन्छ
    र देखिरहेछु मेरो शहरका अधिकांश बेदनाहरु
    पर एक प्राइभेट  हस्पिटलमा 
    बिल तिर्न नसकेर सड्न लागेको एक लास
    तल एक बोर्डिङ स्कुलमा
    फि तिर्न नसकेर घोक्र्याइएको एक कर्णधार
    त्यहाँ एक लाइन होटलामा
    दिउँसो पानी र राती जवानी बेच्न बाध्य एक चेली
    उता एक प्राइभेट बैंकको काउण्टरमा
    मासिक किस्ता तिर्न नसकेर रोइरहेको एक खुद्रा पसले 

    चौथो तला
    जहाँबाट शहर भन्दा पर गाउँ सम्मै देख्न सकिन्छ
    बाबू खाडी र आमा पोइल गएको एक अबोध  बालक
    परिवारको भोक र लाज तानिरहेको एक रिक्सा चालक
    पिठ्युँको भारी भन्दा गह्रौं मनको भारी बोक्ने एक भरिया
    साहुको जमिन भन्दा ठूलो दुखको पहाड जोत्ने एक हलिया 

    पाचौं तलाबाट त महाराज 
    अचम्मै देखियो
    शहर भन्दा टाढा समुन्द्र पार सम्म
    छर्लङ्गै देखियो
    सिमले खेत बन्धकी राखेर एक युवक
    तातो वालुवामा उँट सगै आफै चरिरहेको
    स्वास्नीको गहना बेचेर एक लोग्ने
    चौकादरी गेटमा कालो बुटसगै आफै बजारिरहेको
    अरुलाई यौवनको पोखरीमा डुवाएर एक युवती
    आफू निर्वस्त्र आसुको तालमा डुबिरहेको
    टिनको बाकस भरी पैसा जमाउने एक सपना
    काठको बाकसमा आफै जमिरहेको 

    महाराज ! 
    मैले त आँखा बन्द गरेँ 
    हेर्न सकिन यी सबै सबै दृश्यहरु
    चढ्न सक्दिन अब अरु तलाहरु
    चढ्नुस तपाईं पनि समृद्धिको यो भ्यु टावर
    जहाँबाट देख्नुहुनेछ शुन्दर देशको यी कुरुप अनुहारहरु !! 

    बिश्वर सिंह राई मेवाहाङ
    चिचिला, संखुवासभा 
    हाल रंगेली मोरङ

  • सम्बन्धित विषय:

  • # कविता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology