Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रियसभा बैठकमा कसले के भने ?

राष्ट्रियसभा बैठकमा कसले के भने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १६:१२:२८ बजे
  • 2.0K
    SHARES
  • राष्ट्रियसभा बैठकमा कसले के भने ?
    राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । बिहीबारको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखे ।

    उनले नेपालको संविधान २०४७ हेरेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने प्रश्न गर्दै नेपालको संविधानले प्रतिनिधिसभाको निरन्तरताको सिद्धान्त अंगालेको बताए । उनले विश्वको संसदीय प्रणालीलाई नियालेर हेर्न अनुरोध गर्दै क्यानडामा विशेषाधिकारले मात्रै विघटन गर्न सकिने भनेर लेखिए पनि एक सय वर्ष हुँदा पनि विघटन नभएको, फ्रान्समा सभामुखको परामर्शमा तथा पोर्चुगल र नेदरल्याण्ड्समा संसदीय दलको नेताका परामर्शले मात्रै विघटन हुने व्यवस्था रहेको अवगत गराए ।

    नेपालमा छुट्टै व्यवस्था रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिन नसके मात्रै बल्ल प्रतिनिधिसभा विघटनतर्फ जाने व्यवस्था रहेको उनको भनाइ थियो । “संविधानलाई कसैले पनि शक्तिहीन बनाउनु हुँदैन, ताजा जनादेश माग प्रधानमन्त्रीको इच्छाबाट हुँदैन ।” अर्को प्रसङ्गमा उनले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गरेको र किसान–मजदूर अझै पीडित बन्दै गएको भनी चिन्ता पनि प्रकट गरे ।

    सांसद विमला पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लगाइएको नाराले सम्पूर्ण महिलाको शिर निहु¥याएको जनाउँदै त्यस विषयमा सम्बन्धित दलले माफी माग्नुपर्नेमा जोड दिइन् । समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादवले प्रतिनिधिसभा विघटन औचित्यहीन रहेको जनाउँदै उक्त मुद्दा संवैधानिक इजलासमा पुगेको र त्यहाँ उचित निर्णय लिइने विश्वास व्यक्त गरे । अर्को प्रसङ्गमा सांसद यादवले उखु किसानको बक्यौता तुरुन्त भुक्तानीका लागि पहल गर्न सरकारलाई आग्रह पनि गरे ।

    नेपाली कांग्रेसकी अनिता देवकोटाले सरकारले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भङ्ग गरेको जनाउँदै सरकारले वैशाखमा कसरी निर्वाचन गर्न सक्छ भनी प्रश्न गरिन् । सांसद देवकोटाले ‘सरकारले प्रतिनिधिसभा फेस गर्न नसकेर’ संविधानको मर्म र भावना विपरीत विघटन गरेको टिप्पणी गर्दै जन भावनानुसार काम गर्न नसकेको आरोप समेत लगाइन् ।     

    नेकपाका रामलखन चमारले लुम्बिनी र वीरगञ्ज चिनी मिलको निजीकरणपछि उखु किसानको समस्या जन्मिएको धारणा व्यक्त गर्दै पछिल्लो समयमा उद्योगीलाई कारबाही गर्ने, खाता रोक्ने र कारवाही गर्ने निर्णय गरेकामा सरकारलाई धन्यवाद दिए । यसबाट भुक्तानी दिने काम अघि बढे पनि प्रभावकारी नभएकामा चिन्ता व्यक्त गर्दै उनले करोडौँ रकम अझै भुक्तानी नगरिएकाले कारबाही अघि बढाउन सरकारसँग आग्रह गरे । 

    नेकपाकै शेर बहादुर कुँवरले राजनीतिक दलभित्रका विवाद समस्या समाधानको थलो संसद् नभइ दललाई नै बनाउनुपर्ने बताए । उनले पार्टीभित्रको आक्रोश पोख्ने थलो संसद् बनाउन नहुनेमा जोड दिँदै यही पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयले नेपालका कम्युनिष्ट पार्टीप्रति हेर्ने दृष्टिकोण नै फरक भएको भनी दुःख व्यक्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology