‘सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानु भन्ने मन टाढी गो..’
बोलको कुन्ती मोत्तानले गाएको यो गीत ठ्याक्कै मेल खान्छ सुन्तलाको ग्राहकको लागि । सुन्तला चाखी खानु भनेर पठाउनेको मन टाढिएकाले सुन्तला किन्नु पर्ने अवस्था छ ।
कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् । व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर कृषकहरु लखपति बन्न सफल भएका छन् । लखपति बनेका कृषकका लागि सुन्तलाबोट सुन फल्ने बोट जस्तै भएको छ ।
केही वर्ष पहिलेसम्म आफन्तलाई कोशेली पाको पारेर पठाउन र आफूले खाएर ठिक्क हुने सुन्तला कृषक शुकनारायण श्रेष्ठलाई सुन सरी भएको छ । बोटमा सुन्तला हैन सुन फले जस्तो लाग्छ श्रेष्ठका लागि । ‘सुन्तला बेचेर वार्षिक रुपमा ६० देखि ६५ लाख रुपियाँ आम्दानी भएको छ कृषक श्रेष्ठले भन्नुभयो, पहिला सौखिनको लागि पालिएको सुन्तला अहिले सुन जस्तो भएको छ’ ।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला बेचर लखपति बनेका कृषक श्रेष्ठ तनहुँको सबैभन्दा धेरै सुन्तला बेच्ने नमुना कृषक हुन् । सोही ठाउँका विश्वबहादुर अधिकारी अहिले राजनीति छाडेर सुन्तलाको व्यावसायिक कृषक बन्नुभएको छ । साविक जिल्ला विकास समितिको दुई पटक सभापति भएका अधिकारी र उनको भाई निर्मल अधिकारी मिलेर गरेको सुन्तला खेतीबाट वर्षिक रुपमा रु ६० देखि ६५ लाख कमाइ हुने गरेको बताउँछन् ।
राजनीतिमा निष्कृय बन्दै गएका अधिकारी सुन्तला खेतीबाट नाम पनि दाम पनि मिल्न थाले पछि त्यसमै रमाउन थालेका छन् । आफन्तलाई कोशेली बनाएर खाएर ठिक्क हुने सुन्तला अहिले व्यावसायिक बनाएका छन् । सुन्तला किन्न ठेकदार बगैंचामै टिपेर बोटमा सुन्तला निख्रि सकेको कृषक निर्मलबहादुर अधिकारीले बताए । ‘बजारमा गए किनेर खान सुन्तला पाईन्छ यतिबेला बगानमा आए सुन्तला छैन बोट भएको दाना निख्रिसके’ अधिकारीले भने । उमाचोकबाट मात्रै दुई करोड दुई लाखको सुन्तला कृषकले बिक्री भएको र गाउँका सबै सबै बोटमा सुन्तला निख्रिसकेको उमाचोक सुन्तला बल्क क्षेत्रका अध्यक्ष समेत रहेका अधिकारीले जानकारी दिए । ‘चखाउनको लागि भनेर कसैले राख्दैनन्, सुन जस्तै भयो सुन्तला सबैलाई बिक्री गरेर गोजी भर्ने ध्यान छ’ अधिकारीले गोरखापत्रसँग भने । आफ्नो परिवारले मात्रै ८५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएको र यस वर्ष ६० लाख रुपियाँ आम्दानी भएको अधिकारी जानकारी दिए । गत वर्ष ६५ लाख रुपियाँ सुन्तला बिक्रीबाट आम्दानी भएको उनले बताए । सुन्तला बेचेर चालु आर्थिक वर्षमा जिल्लाका कृषकले रु २३ करोड रुपियाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।