एजेन्सी । एक व्यक्तिले फरकफरक समयमा अलगअलग व्यक्तिसँग प्रेम र विवाह गर्नु त समाजमा सामान्यतया देखिएको घटना हो । तर, एक व्यक्तिले एकै समय र मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गर्नु भने अचम्मको कुरा हो ।
छिमेकी राष्ट्र भारतको छत्तिसगढको बस्तरमा सम्पन्न एउटा यस्तै विवाहले सबैलाई अचम्मित तुल्यायो । बस्तरका चन्दु नामका एक युवकले आफ्नो दुबै प्रेमिकालाई एउटै मण्डपमा विवाह गरे । यी युवक लामो समयदेखि आफ्ना दुबै प्रेमिकाका साथ सम्बन्धमा थिए ।

विवाह जनवरी ३ मा भएको थियो, जसमा गाउँका धेरै व्यक्तिहरूले भाग लिएका थिए । चन्दुले भने कि दुबै केटीहरू उनलाई धेरै माया गर्थे । त्यसैले उनी दुबैलाई धोका दिन चाहँदैनथिए ।
करिब तीन वर्ष पहिले उनी टोकपल क्षेत्रमा विद्युत खम्बा गाड्न गएका थिए । त्यहाँ उनले २१ वर्षीया सुन्दरी कश्यपलाई भेटे र दुबैले एक अर्कालाई प्रेम गर्न थाले । त्यसपछि फोनमा कुराकानी सुरु भयो, विवाहको योजनाहरू बनाइयो ।

यस सम्बन्धको एक वर्षपछि २० वर्षीया हसिना बघेल चन्दुको गाउँमा आफन्तको विवाहमा आइन् । दुबैले एक अर्कालाई देखे र प्रेममा परे । यसपछि दुबैले एक अर्कालाई प्रेम व्यक्त गरे । चन्दुले आफू पहिल्यै अर्की केटीसँग प्रेमसम्बन्धमा रहेको बताए । तर, हसिनालाई पनि यसमा कुनै आपत्ति भएन ।

चन्दुले एक दिन हसिना र सुन्दरीलाई एक अर्कासँग परिचय गराए । त्यसपछि चन्दुसँग सम्बन्ध बनाउन दुबैलाई कुनै समस्या थिएन । तर, जब सुन्दरीलाई थाहा भयो कि हसिना चन्दुसँग घरमा बस्न थालिन्, उनी पनि चन्दुको उनको घरमा आइन् । त्यसबेलादेखि तीनै जना एउटै परिवार जस्तो गरी बस्न थाले ।

जब तीनै जना बिहे नगरी सँगै बस्न थाले, सबैले प्रश्न उठाए । त्यसपछि गाउँलेहरू भेला भए र उनीहरुको एउटै मण्डपमा विवाह गराइदिए । विवाहमा तीनजनालाई आशिर्वाद दिनका लागि ठूलो संख्यामा मानिसहरू आएका थिए ।