Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १५:१९:१२ बजे
  • 1.8K
    SHARES
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने

     राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ ।

    images

    हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि प्राविधिक जनशक्ति अभावमा उपकरण जडानको कार्य ढिला भइरहेको छ । अहिलेसम्मको कामको समग्र प्रगति हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।

    पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करिब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जनाएको छ ।

    विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको छ महिनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनकर्मीले जानकारी दिए । “अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महिनाभित्रै जडानको काम सकिनेछ”, उनले भने ।

    कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १ सय ६० चिनियाँ र ६० नेपाली गरी २ सय २० कामदार खटिएका छन् ।

    विमानस्थलको हाल दुई हजार ५ सय मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदै छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम सुरु हुनेछ । प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जनाएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने जनाए । करिब तीन हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ ।

    विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ वटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।

    रिट्ठेपानी डाँडा काटिँदै
    ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थल नजिकै रिट्ठेपानी डाँडा काट्ने तयारी भएको आयोजनाले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । एक महिनाभित्रै ठेक्का प्रक्रिया अगाडि बढाएर करिब छ महिनामा डाँडा काटेर सम्याइनेछ ।

    आयोजना प्रमुख मुनकर्मीका अनुसार आइकाओ मापदण्डअनुरुप जहाज उडान एवं अवतरण गर्ने मार्गमा अवरोध हुन हुँदैन । रिट्ठे डाँडा धावनमार्गको ‘अप्रोच’मा परेको छ । त्यसले उडान तथा अवतरणमा अवरोध पु¥याउने भएकाले काट्नुपर्छ । हाम्रो मार्गमा ‘४० मिटर ‘अप्स्ट्रयाकल’ परेकाले रिट्ठेपानी डाँडा काटेर समतल बनाइने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ । 

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # पोखरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology