माघ २, २०७७ शुक्रवार
•
१०:२४:०३ बजे
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठकमा अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ यसअघि बिहिवार पेरिसडाँडामा बसेको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा भएका आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बैठकमा आन्दोलनका कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले आन्दोलनका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए । तर, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने निर्णय भइनसकेकोले आजको बैठकमा थप छलफल गरि निर्णय गर्ने भुसालले बताए । अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन पेस गरिसकेको छ ।
पुस २० गते बसेको बैठकले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।
उक्त प्रतिवेदन र आन्दोलनका कार्यक्रमबारे आज बस्ने बैठकमा थप छलफल हुने र आगामि आन्दोलनको कार्यक्रम घोषणा गर्ने नेकपाको तयारी छ ।