नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग गोप्य भेटवार्ता गरेकी छिन । राजदूत यान्छीले गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् । नेपालमा राजनीतिक संकट गहिरिइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनीहरूबीचको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् । उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् । ‘उहाँहरूबीच भेटवार्ता भएको हो, तर कुन विषयमा कुराकानी भयो भन्ने जानकारीमा आएको छैन,’ उनले बताए ।
नेकपाभित्रको विवादको कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।
प्रतिनिधिसभा विघटन भएको केही दिनमै यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा भएको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न पठाएको टोलीसँग पनि यान्छी शीतल निवास गएकी थिइन् ।
वैशाखदेखि नै नेकपामा विवाद शुरु भएपछि राजदूत यान्छीले नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसँग उनीहरूकै निवासमा पुगेर पटक–पटक भेटवार्ता गर्दै आएकी छन् ।
चीनको चाहना नेकपा नफुटोस् र नेपालमा राजनीतिक स्थिरता तथा आर्थिक विकास होस् भन्ने रहेको बुझिएको छ । नेकपा विभाजन भएपछि चीनबाट आएको विशेष टोलीले पनि दुई समूह अझै मिल्न सक्ने सम्भावना कति छ ? भन्दै दुवै पक्षसँग सल्लाह गरेको थियो ।