नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको बृहत विरोध प्रदर्शन हुने भएपछि बिहानैदेखि काठमाडौं अस्तव्यस्त देखिएका छन् ।
काठमाडौं उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधन प्रवेश नपाउँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ । पैदल हिडेर गन्तव्यतिर लागेका छन् ।
नेकपाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्दै रत्नपार्क पुग्ने र भृकुटीमण्डपमा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । सबै सवारी साधनहरु भित्र प्रवेश गर्न दिँदा थप अस्तव्यस्त हुने देखिएको भन्दै ट्राफिक प्रहरीले यातायातका साधन रोकेका छन् ।
निजी, सरकारी र अत्यावश्यक सवारी साधनहरुलाई भने अहिलेसम्म निर्वाध रुपमा सञ्चालन हुन दिइएको छ ।
बढी भिडभाड नहोस भन्नका लागि रिङरोडबाट ठूला सवारी साधन रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बिहानै रिङरोड प्रवेश गरेका ठूला सवारी साधनलाई पनि ट्राफिक प्रहरीले बाहिर पठाउने काम भइरहेको छ । रिङरोडमा भने गाडी निर्वाध सञ्चालन हुने एपी अधिकारीले बताए ।
त्यस्तै, रिङरोड बाहिर नै सवारी साधन रोकिएपछि काठमाडौं बाहिरबाट आउने प्रदर्शनकारीहरु पैदल नै शहर प्रवेश गरेका देखिएका छन् ।