पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा–१७ का एकजना शिक्षकलाई आज विद्यार्थीले कालोमोसो दलेका छन् । कक्षा ११ का विद्यार्थीलाई परीक्षाका नाममा रकम असुल्ने र झुक्याउने काम गरेपछि आक्रोशित विद्यार्थीले शिक्षक उपेन्द्रराज पोखरेललाई कालोमोसो लगाएका हुन् ।
विज्ञान संकायतर्फका गणित विषयमा आंशिक परीक्षा दिने विद्यार्थीलाई पास गरिदिने भन्दै रकम लिएर ट्युसन र परीक्षा लिएका शिक्षक पोखरेललाई नेपाल विद्यार्थी संघ कास्की र अखिल क्रान्तिकारी कास्की लगायतको उपस्थितिमा विद्यार्थीले कालोमोसो लगाएका हुन् । ती शिक्षकले ६ दिन पढाएको पाँच हजारका दरले पैसा लिएका थिए । ती शिक्षकले लिएको परीक्षाका विषयमा विद्यालय प्रशासनलाई केही थाहा नभएको र रकम लिएर झुक्याउने काम शिक्षकले गरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएर कक्षा ११ का गणित विषयका शिक्षक पोखरेललाई कालोमोसो लगाएका हुन् ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालले भन्नुभयो–‘शिक्षकले लिएको परीक्षा हो, शिक्षक र विद्यार्थी विचमा के-के भयो त्यो हामीलाई पनि थाहा भएन । पछि एकैचोटी मिडियासहित बाहिरका विद्यार्थी पनि आएर के-के हल्ला गरेका छन् थाहा छैन । हामी अन्यौंलमा नै छौं ।’
छोरेपाटन माविमा उपस्थित अखिल क्रान्तिकारीका नेता प्रकाश बास्तोला ‘मार्शल’ले शिक्षाका नाममा गलत धन्दा र कामहरु गर्ने जो कोहीलाई पनि बाँकी नराख्ने चेतावनी दिनुभयो । अखिल क्रान्तिकारीका नेता मार्शलले भन्नुभयो–‘शैक्षिक क्षेत्रमा देखिएका यस्ता धेरै विकृतिहरुलाई निमिट्यान्न पार्न आवश्यक परेमा जनकारवाहीसम्मको तहमा हामी उत्रिन पछि पर्दैनौं ।’
छोरेपाटनमा भएको यस घटनाका विषयमा विद्यालयमा नैं छलफल गर्दै नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका उपसभापति निर्दोष विक्रम पौडेल, नेविसंघका नेताहरु गौरव बराल र सुशान्त पौडेल लगायतले शिक्षक पोखरेलले विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्नुपर्ने र विद्यालय प्रशासनले वैधानिक रुपमा कक्षा ११ को आंशिक परीक्षा लिनु पर्नेमा जोड दिनुभएको थियो ।