नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहद् जनप्रदर्शन तथा विरोध सभाको आयोजना गरेको छ । राजधानीको आवागमन नै ठप्प हुनेगरी भएको उक्त विरोध प्रदर्शनमा देशका विभिन्न भागहरुबाट नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थिति थियो । राजधानीका विभिन्न भागहरुबाट निस्किएको जुलुस टुँडीखेल अगाडि जम्मा हुँदा मानव सागरको झल्को दिन्थ्यो ।
नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता सहभागी जुलुस शान्ति बाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै मञ्च रहेको स्थान टुँडीखेल अगाडि सभामा परिणत भएको थियो । सुरक्षाकर्मीका अनुसार आजको जनप्रदर्शनमा ९० हजारको हाराहारीमा मानिसहरुको उपस्थिति रहेको थियो । सुरक्षाकर्मीले कार्यक्रम स्थलमा ड्राेन पनि उडाएर कार्यक्रम बिथाेल्न हुनसक्ने घुसपैठ र सहभागीहरूकाे चहलपहलमाथि निगरानी पनि राखेकाे थियाे ।
सञ्चारकर्मी तथा अन्य पर्यवेक्षकहरुले आजको कार्यक्रमलाई शान्तिपूर्ण र व्यापक जनताको उपस्थितिमा अनुशासित भएको बताएका छन् । पत्रकार सिताराम बरालले सामाजिक सञ्जालमा प्रचन्ड-माधव-झलनाथले नेतृत्व गरेको नेकपाको बहुमत पक्षले यसैगरी जनसमूहलाई सडकमा ल्याइरहन सक्यो भने प्रधानमन्त्री केपी शर्माको स्वेच्छाचारिताले घुँडा टेक्न चैत-वैशाख कुर्नु नपर्ने बताएका छन् ।
धेरैले यस प्रदर्शनलाई ०६२’६३ को जनआन्दोलनको संज्ञा दिए । आन्दोलन र प्रदर्शनमा नेताहरुका अतिरिक्त कार्यकर्ता र नेकपाका शुभेच्छुकहरुले आफूहरुमा उर्जा प्रदान गरेको बताएका छन् ।