प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।
शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए । आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’
इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका थिए ।