Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मैले नै नक्सा छाप्न निर्देशन दिएको हुँ यो लम्पसारवाद हो ? : प्रचण्ड

मैले नै नक्सा छाप्न निर्देशन दिएको हुँ यो लम्पसारवाद हो ? : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • १७:२२:२० बजे
  • 2.3K
    SHARES
  • मैले नै नक्सा छाप्न निर्देशन दिएको हुँ यो लम्पसारवाद हो ? : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओली समर्थकले सडकमा लगाएको नाराको जवाफ दिएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले ओलीका विभिन्न प्रश्नको जवाफ दिएका छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसहितको नक्सा जारीगर्न सरकारलाई आफूसहितका सचिवालय सदस्यले निर्देशन दिएको स्मरण गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले औपचारिकतामात्र दिएको जानकारी दिएका छन् ।

    images

    पार्टीका नेताहरुलाई ओली निकटकाले लम्पसारवादी भनेकामा प्रचण्डले आपत्ति जनाए । उनले नक्सा छाप्ने विषयको पृष्ठभूमिको पनि स्मरण गरेका छन् । उनले भने, 'मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्‍यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?'

    केन्द्रिय समिति बैठकमा पनि नक्साको विषयमा छलफल भएको स्मरण गर्दै उनले संवैधानिक व्यवस्थाको कुरा पनि त्यो बेला नै उठेको सुनाए । उनले भने, ‘केन्द्रीय समितिले अविलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ? कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकतावद्ध गर्नका लागि सच्चाइ के हो भने एउटा कम्युनिष्ट स्पिरिटमा बुझ्नुपर्दछ । नेताहरुलाई सावधान रहन खबरदारी गर्नुपर्छ ।’

    कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रैबाट नेताहरुलाई राष्ट्रघाती भनेकोमा असन्तुष्टि जनाए । पहिलो पटक प्रधानमन्त्री भएको समयमा ओलीलाई दिएको समर्थन फिर्ता लिएको प्रसंगमा उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) सम्झौता भयो । के यो लम्पसारवाद हो ? आफूलाई महान राष्ट्रवादी देख्ने र अरुलाई राष्ट्रघाती देख्ने कुरा गलत हो ।'

    ओलीले भारतलाई फास्ट ट्रयाक निर्माण गर्न दिन लविङ गरेको कुरालाई लक्षित गर्दै प्रचण्डले भने, ‘फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो ? संविधान त बन्यो, निर्वाचन हुन्छ त ? भन्ने प्रश्न थियो । मैले मधेसवादी दललाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त ? ’पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै सडकमा भइरहेको जिन्दावाद र मूर्दावादको नाराका पछि नलाग्न आग्रह गरे । उनले भने, 'पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’प्रचण्डले पार्टी एकताका लागि आफूले हरसम्भव प्रयास गर्ने पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology