Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल

ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १८:४४:०३ बजे
  • 1.3K
    SHARES
  • ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने ओलीको योजना असफल

    ठूलो संख्यामा पूर्वलडाकु भित्र्याउने योजना असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससाना समूहहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छन्। शनिबार बालुवाटारमा ओली समूहमा प्रवेश गर्नेहरुमा जनयुद्ध सकिएपछि माओवादीमा लागेका लीलाबहादुर थापादेखि लेनिन विष्टसम्म छन्।

    images

    यसअघि पूर्व डिभिजन कमान्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकु भित्र्याउने ओलीको तयारी थियो। तर, त्यो असफल भएको एक पूर्व बटालियन कमान्डरले बताए। ‘विविधलाई कमान्डर मानेर सामूहिक रुपमा गएको भए ठिकै हुन्थ्यो होला तर त्यस्तो भएन,’ उनले भने, ‘बरु, हिजो जनयुद्धमा कुनै भूमिका नभएकाहरु आआफ्नो झुण्ड लिएर गएछन्।’

    यसबाट पूर्वलडाकुको हित नहुने उनको भनाइ छ। ‘जनमुक्ति सेना मिलेर आएनन्, किस्ताकिस्तामा आउने भए। सबैले आफ्आफ्नो गुट बनाउने, सोझै प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने अनि जाने, यसले हाम्रो मुद्दा कमजोर हुनेभयो र प्रधानमन्त्रीलाई मात्र राम्रो भयो, उनले चाहेकै त्यही थियो,’ उनले भने।

    उनले ओली समूहमा गुटगत भेदभाव गरिएको बताए। ‘ओली पार्टीमा पनि नेतापिच्छेको खेमा रहेछ,’ उनले भने, ‘म त बादलले पूर्वपीएलए एक हौँ भनेपछि यता मिसिएको हो। जिम्मेवारी दिने कुरा थियो। तर, पछि यो गुट, त्यो गुट भनेर भेदभाव गरियो।’

    प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले पूर्वलडाकुलाई एकत्रित पार्ने काममा खाम र बालकृष्ण ढुंगेललाई अघि सारेका थिए। सोहीअनुसार उनीहरु देशभरका पूर्वजनमुक्ति सेना भेट्दै र भेला गर्दै हिँडेका छन्। तर, ओली आफैँले केही लडाकुहरुलाई भेटेर भित्र्याउन थालेपछि ढुंगेल अन्यौलमा परेका छन्।

    ‘पूर्वपीएलएका साथीहरुसँग छलफल चाहिँ तीव्र चल्दैछ तर, यही गर्ने भनेर ठोस बनिसकेको छैन। किस्ता किस्तामा पनि हुनसक्छ, एकैचोटीपनि हुनसक्छ भन्ने थियो, तर, साथीहरु व्यक्तिगत रुपमा आफ्नै गुट बनाएर जान थल्नुभयो,’ ढुङ्गेलले भने। यही विषयमा शनिबार गृहमन्त्री थापा र ढुङ्गेलबीच छलफल पनि भएको थियो। छलफलमा पूर्वलडाकुलाई दिइने प्याकेजबारे निर्णय गर्न सुझाव दिएको ढुंगेलको भनाइ छ।

    ‘अहिलेसम्म पूर्वलडाकुलाई के दिने भन्नेबारेमा कुनै निर्णय भएको छैन, आर्थिक प्याकेज दिने विषयमा पनि सहमति जुटेको छैन। सबै एकैचोटी प्याकेजमा नहुनसक्छ, किस्ता किस्तामा हुनसक्छ,’ ढुङ्गेलले नेपालखबरसँग भने, ‘उहाँहरुको अपमानलाई सम्मानमा बदल्ने, अयोग्यलाई योग्य बनाउने, घाइते अपांगहरुको उपचार गर्ने, जनआन्दोलन, मधेस आन्दोलन, जनयुद्धका घाइतेहरुको जीवन निवृत्तिभरणको विषयमा के गर्न सकिन्छ भनेर छलफल चलिराखेको छ। एउटा कार्यदल बनाएर त्यसले दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र समाधान गर्ने भन्ने हो। पैसा दिने भन्दा पनि उद्यमशील बनाउन पर्छ भन्ने मेरो सुझाव हो।’

    यस विषयमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापा सकारात्मक भएपनि विश्वास गरिहाल्ने अवस्था नरहेको उनले बताए। ‘प्रधानमन्त्री र गृहमन्त्री पोजिटिभ हुनुहुन्छ। परिणाम कति निस्किन्छ मुख्य कुरा त्यहाँ हो,’ उनले भने। उनले खामलगायतको टोली छलफलमै रहेको र प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा जाने सम्भावना नरहेको बताए। ‘विविध लगायतको टोली छलफलमै छ, प्रचण्डलाई २० वर्षदेखि उहाँहरुले चिन्नुभएको छ,’ ढुंगेलले भने।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology