नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ वर्षभित्र नयाँ नेपालको जग बसाल्ने बताएका छन् । उनले लुम्बिनी प्रदेशको बुटवलमा भएको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले पार्टी एकता गर्दा आफूसहित नेपाली जनताले ठूलो सपना देखेको भएपनि अहिले त्यो सबै सपना प्रधानमन्त्री केपी शर्मा ओलीले भत्काइदिएको आरोप लगाएका छन् ।
प्रचण्डले ५ वर्षमा किसान, महिला, आदिवासी–जनजाति, मधेशी, दलितलगायतको पूर्ण अधिकारको ग्यारेन्टी गर्दैै देशलाई आमुल परिवर्तनमा लाने योजना भएपनि त्यो योजना ३ वर्ष नपुग्दै चकनाचुर बनाएर ओली श्री ३ बन्न खोजेको आरोप लगाए ।
विश्व शान्तिको प्रतिकको रुपमा रहेको लुम्बिनी प्रदेशले २०६२–६३ को जनआन्दोलनमा पनि सघाएको भन्दै प्रचण्डले महाराजलाई परास्थ गरेको लुम्बिनीले अहिले श्री ३ तीन बन्न खोज्ने ओलीलाई पनि परास्त गर्ने बताए ।
बुटवलको सभा ओलीको विरुद्धमा नभएको भन्दै प्रचण्डले यी भेला र सभा विधिको शासन, न्यायको शासन, सत्य, तथ्यसहित परिवर्तनको लागि भएको बताए । पार्टी एकता भएपछि देशमा आमुल परिवर्तन गर्न आशा भएपनि अहिले त्यो सपना भत्काएका कारण फेरि अर्को परिवर्तनको आवश्यकता भएको उनले बताए ।
महंगी, भ्रष्टाचार, किसानको समस्या, महिलाको अधिकार, जनजातिको समस्या, दलितको समस्या, सहिद तथा बेपत्ता रहेकाको लागि न्याय दिने संकल्प पुरा गर्न ओली वाधक रहेको प्रचण्डले बताए ।
आफूले पार्टी एकतालाई बचाएर देशलाई आमूल परिवर्तनको दिशामा लान खोजेको भएपनि ओलीको निरंकुशताले त्यो सबै भत्काइदिएको प्रचण्डले बताए ।