नेकपाको संघर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेका बताएका छन्। संवैधानिक निकायहरूमा भएको नियुक्तिको विरोध गर्दै नेकपाले आम हडताल आह्वान गरेको छ। त्यस क्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले बताएको छ।
केही ठाउँमा तोडफोड भएको छ। बन्द गराउन सडकमा पुगेका नेकपाका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन्। आम हडतालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका प्रवक्ता श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरूलाई गिरफ्तारी गरिएको छ, यसो नगर्नु पर्थ्यो। सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जबाफदेही सरकार नै हुनुपर्छ।’
उनले ओली सरकार फासिवादतर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतन्त्र रक्षाका लागि आफूहरू आमहडताल गर्न बाध्य भएको बताए। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली संविधान, नियम, कानुन केही नमान्ने जंगलराज, गुन्डाराजतिर अघि बढेकाले शान्तिपूर्ण आन्दोलनअन्तर्गत नै आम हडताल गरिएको बताए। ट्याक्सीमा भएको आगजनीबारे सोधिएको प्रश्नमा भने उनले कहीँ कतै त्यस्तो भएको भए आफैँ छानबिन गर्ने बताए।
‘एक-दुई वटा अप्रिय घटना भएका छन्, ती राज्यतर्फकै दमनका कारण भएका हुन्,’ उन भने, ‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन गर्ने हो, त्यही अनुरूप देशभर आमहड्ताल भइरहेको छ। यद्यपि, अवाञ्छित तत्त्वहरूले बदनाम गराउने प्रयत्न गरेका छन्, त्यसप्रति सचेत पनि छौँ।’ उनले आफूहरूले बाध्यतावश आमहड्ताल गर्नुपरेको बताए।
सकेसम्म हडताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने प्रवक्ता श्रेष्ठले बताए। प्रतिनिधिसभा पुनर्स्थापना, विभिन्न संवैधानिक आयोगमा गरिएका असंवैधानिक नियुक्ति खारेजीलगायत माग पूरा हुनुपर्ने उनले बताए।