नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ ।
झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।
नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले भने यो राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गरेकी थिइन् ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीविरुद्ध कसैले उजुरी दिएका छैनन् । तर प्रहरी आफैले चासो दिएर छलफलका लागि बोलाएको एसएसपी थापाले बताए । नआएपति आवश्यक प्रक्रिया अघि बढाउने क्रममा आफूहरु रहेको उनले जानकारी दिए ।
महाशाखा प्रमुख एसएसपी दीपक थापाले दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको झाँक्रीले मान मर्दन, अपमान र चरित्र हत्या गरेको आरोप लागेको छ।
झाँक्रीलाई पक्राउ गर्न उनको घर शंखमुलमा बाक्लो गरी प्रहरीहरू परिचालन भएका छन्। झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई प्रचण्ड समूहका नेता कार्यकर्ताहरूले अवरोध पुर्याइरहेका छन्। एकजनामाथि कुटपिट भएको छ।