प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि जवाफी बहस शुरु हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी आजबाट बहस शुरु हुन लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको थियो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षका वकिलले आज जवाफ दिनेछन्
जवाफी बहसमा नेकपा प्रचण्ड माधव समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र शम्मु थापालगायतले बहस गर्नेछन् ।माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरे ।
जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्च अदालतले जनाएको छ ।एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।