मोरङ प्रहरीले शिक्षक हत्या गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव सहित ४२ जनाविरूद्ध मोरङ अदालतमा मुद्दा दर्ता गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिकाको १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जनाविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा सोमबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
यसअघि प्रहरीले विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भन्ने धनबहादुर बिकलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले बिकसहित ४१ जनाविरुद्ध अदालतमा अभियोग दर्ता गरेको मोरङ अदालतले जनाएको छ । मुद्दाको प्रतिवादीमा नेत्रबहादुर चन्द विप्लवसहित ४२ जना छन् । फरकधारले लेखेका छन ।
गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । हत्या गरेकै दिन नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहले घटनाको जिम्मा लिएको थियो ।
प्रहरीले विषम भन्ने सन्तोष बुढा मगर, प्रकाण्ड भन्ने खड्गबहादुर विश्वकर्मा, दीपक चलाउने, प्रताप भन्ने थमन सिंह राई, शैलेस भन्ने चन्द्रबहादुर बुढाथोकी, योग भन्ने सञ्जय राई, विवश भन्ने पुष्पलाल चौलागाईं, दर्शन भन्ने नवीन राई, दर्शन थापा भन्ने विशाल मगर, आकाश भन्ने माधव गौतम, उत्तर कुमार राई भन्ने युवराज राई, भीम भन्ने कुमार राईलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
यस्तै, सञ्जीव मगर, ङवाङनुरु भन्ने पेम्बा शेर्पा, अमृत सागर भन्ने योगेन्द्र बस्नेत, शिलु भन्ने उमा भुजेल, सुमन सिंह पौडेल, बाल कुमार राई भन्ने राकेश राई, मिलन राई, नाती भन्ने बासन राई, अखिल भन्ने मनोज भुजेल, लुङ्गा भन्ने सुदम लुङखिम्बा, उमेश खत्री, संग्राम भन्ने पूर्णबहादुर थलङ (लिम्बु, आशिष भन्ने बिक्रम राई, बिर्जुम भन्ने श्रीमान राई, विशाल लुङखिम्वा लिम्बू, संगम आङदाम्बे, अनुस्का राई, हेतु साउदेन लिम्बू, मौषम भन्ने जितमान राई, अविनाश भन्ने डम्बर मगर र महाविर भन्ने जितेन्द्र महरा विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।