Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि मागे प्रचण्ड र नेपालले ओलीको राजीनामा

फेरि मागे प्रचण्ड र नेपालले ओलीको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • १५:४१:५४ बजे
  • 6.1K
    SHARES
  • फेरि मागे प्रचण्ड र नेपालले ओलीको राजीनामा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय र वरिष्ठ नेताबीच झण्डै दुई घन्टा भेटवार्ता भएको छ । पार्टीमा देखिएको गतिरोध अन्त्यको प्रयास स्वरुप अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घन्टा वार्ता भएको थियो ।

    images
    ओली, प्रचण्ड र नेपालबीच सहमतिका लागि विभिन्न विकल्पमा छलफल भए पनि कुनै सहमति भने नभएको बालुवाटार स्रोतले जनाएको छ । छलफलको अन्तिमतिर वरिष्ठ नेता नेपाल बाहिरिएका थिए । त्यसको १० मिनेटमा प्रचण्ड पनि निस्किएर हिँडेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

    प्रचण्ड र नेपालले एकस्वरमा ओलीले दुवैपदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका स्रोतले जनाएको छ । जवाफमा प्रधानमन्त्री ओलीले पुरानै अडान राखेका छन् । उनले तत्काल दुवै पदबाट राजीनामा दिन नसक्ने प्रष्टसँग राखेका छन् । त्रिपक्षीय छलफलका क्रममा महासचिव विष्णु पौडेल पनि उपस्थित रहेका थिए ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएपछि स्थायी कमिटीका ३१ जना सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि नेकपा भित्रको विवाद उत्कर्षमा छ ।

    पटक पटक स्थगित गरिएको स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको छ । भोलि बिहानसम्म सहमति हुने सम्भावना देखिएमा बैठक फेरि पनि स्थगित हुन सक्ने एक सचिवालय सदस्यले जानकारी दिए । तर, सहमति नभएमा भने बैठक बस्नुपर्नेमा प्रचण्ड-नेपाल पक्षको जोड छ ।

    यसअघि ओली र प्रचण्डबीचका वार्तामा दुवैजनाले आआफ्नै अडान राखेका छन् । एजेण्डागत छलफलसमेत हुन सकेको छैन । आजको वार्तामा एजेण्डागत छलफल गर्ने तयारी छ । आजको त्रिपक्षीय छलफलका आधारमा भोलिको रणनीति बनाइने नेपाल निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology