नेकपा विप्लव समूहबीच वार्ताका लागि सरकार लचिलो बनेको छ । आफूहरु वार्ताका लागि तयार रहेको विप्लव समूहको जानकारीपछि सरकारी पक्ष गृहकार्यमा जुटेको छ ।
सरकारले प्रतिवन्ध फुकुवा गर्ने र वार्ता टोली बनाउने तयारी गरेको छ । मंगलबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले दुई वर्षदेखि लगाएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार, मंगलबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले विप्लव समूहसित वार्ताका लागि वार्ता टोली पनि बनाउने तयारी छ ।
सरकारले औपचारिक वार्ताका लागि आव्हान समेत गर्नेछ । भूमिगत अवस्थामा रहेका विप्लवसँग सरकारले वार्ताका लागि विभिन्न स्रोतहरुमार्फत प्रक्रिया अघि बढाएको छ । विप्लवका नेताहरुसँग सरकारी पक्षबाट अनौपचारिक वार्ता भइसकेको छ । वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
गएको माघ २० गते खानेपानीमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली भेट्न पुगेका थिए ।