म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन् गर्न थालेका छन् ।
वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको हो ।
बेनी जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।
अव्यवस्थितरूपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
जलजला गाउँपालिका ७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
सोही कम्पनीले बेनी नगरपालिका ९ मा पर्ने गलेश्वर मजुवाको बगरमा उत्खनन र निकासीका लागि रु सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए ।
राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रहअनुसार मजुवा गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने विषयमा जलजला र रघुगङ्गाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए ।
साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपूर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताए ।
उत्खननमा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन उनले भने, मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यात्रा विकास आयोजनालाई आवश्यक पर्ने सामान पुर्याउन सकिँदैन ।
नदीजन्य वस्तुको उत्खनन् नियमनका लागि जिल्लास्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपकरण प्रयोग गरेर उत्खनन् भएकोसम्बन्धी सूचना नआएको बताए ।
सम्झौता र इआइ प्रतिवेदनविपरीत नदी बगर उत्खननमा उपकरण प्रयोग गरेको भेटिएमा कारवाही गरिने उनले बताए ।