Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

बागलुङ गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १०:१९:२८ बजे
  • 2.4K
    SHARES
  • बागलुङ गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

    फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ ।

    images

    कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहर व्यवस्थापन गरिने छ । नकुहिने फोहरका लागि नगरले रिसाइकल मेसिन खरिद गरेको छ । विशेषगरेर प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।

    नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताए ।

    प्लाष्टिकजन्य फोहरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो गैरेले भने, फोहर व्यवस्थापनका लागि हुने खर्च फोहरबाटै आम्दानी हुने गरी काम थालेका छौँ । नगरपालिकाले मासिक रु २० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताए । नगरपालिकाले फोहर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।

    वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालु आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब रु १० लाख बराबरको काम भएको छ । उनले केही दिनमा फोहर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिए । वडाभरिको फोहर सङ्कलनका लागि ट्र्याक्टरको व्यवस्था नगरले गरेको छ । फोहर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक रु ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूूनी व्यवस्था नगरले गरेको छ ।

    रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ गैरेले भने, तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ । धवलागिरिमै पहिलोपटक फोहर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।

    नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहर सङ्कलन तथा प्रशोधन गरी फोहरलाई मोहरमा बदल्न गलकोट फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब रु ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology