Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण कार्य सुरु

म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण कार्य सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १५, २०७७ शनिवार • १०:०६:३६ बजे
  • 1.9K
    SHARES
  • म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण कार्य सुरु

    हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पुयाउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेका हुन् ।

    images

    प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ ।

    अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ ।

    यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ । रु ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो । असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।

    बेनी नगरपालिका ४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ । यो पुलको कूल लागत रु १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो । अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

    पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका ७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका ५ र धौलागिरि ७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ । यो पुलका लागि इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको छ ।

    बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो । यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ । अब हामी पनि शहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका गाउँपालिका २ ताकमका शेरबहादुर विकले भने, गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझिँदै छ ।

  • सम्बन्धित विषय:

  • # पक्की पुल निर्माण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology