Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डलाई एकल अध्यक्ष छाड्न ओली तयार तर..

प्रचण्डलाई एकल अध्यक्ष छाड्न ओली तयार तर..

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • १०:११:०५ बजे
  • 4.6K
    SHARES
  • प्रचण्डलाई एकल अध्यक्ष छाड्न ओली तयार तर..

    सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ  । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । १७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ  । स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ  । योसँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपाभित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिनेछ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो  ।

    images

    सहमतिको कुनै नयाँ निकास नआए पनि बैठक नरोक्ने विषयमा ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेको थियो  । स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ । शुक्रबारको बैठकमा बोल्न बाँकी स्थायी कमिटीका केही सदस्यले धारणा राख्नेछन्  । तीन नेताको समझदारीअनुसार शुक्रबारको स्थायी कमिटी बैठकमा यसबीचमा भएको नेतृत्व तहको छलफलबारे ओली र प्रचण्डले बैठकलाई ‘ब्रिफिङ’ गर्नेछन्  । स्थायी कमिटी बैठकअघि दुई अध्यक्षको छलफल हुने नेता सुवास नेम्वाङले बताए । अहिलेकै स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउन प्रधानमन्त्री ओली पनि सकारात्मक बनेपछि पार्टी विभाजन हुन नदिन केही समय लिएर स्वेच्छाले ओलीलाई दुईमध्ये एक पद रोज्नका लागि संवाद जारी राख्ने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ  ।

    बालुवाटार छलफलपछि ओली समूहका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि वरिष्ठ नेता नेपाललाई संवाद जारी राखेरै कुनै न कुनै बिन्दुमा पुग्ने गरी निकास खोज्न सकिने प्रस्ताव गरेका थिए  । पोखरेलसहितका नेताहरूले अध्यक्ष प्रचण्डसमक्ष पनि त्यस्तै प्रस्ताव राख्दै आएकाले खुमलटारमा साँझ भेला भएका प्रचण्ड–नेपाल समूहका नेताहरूले बैठक चलिरहेकै बीचमा पनि संवाद जारी राखेरै सकभर ओलीलाई एक पदमा मनाउने निष्कर्ष निकालेका छन्  । ‘उहाँहरूका (ओलीनिकट) कतिपय साथीहरू प्रधानमन्त्रीलाई कर्नरमै धकेल्ने गरी नजाऊँ, बरु समय लिएर उहाँलाई नै रोज्ने गरी समय दिऊँ भनिरहनुभएको छ, त्यो दाउपेच हो भने त सफल हुँदैन, तैपनि यदि त्यही नै हो भने केही समय दिऊँ, बीचमा सबैको विन–विन (दुवै पक्षको जित) होस्, कारबाहीकै अनुभूति हुने गरी किन बहुमतबाट निर्णय गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ प्रचण्ड–नेपाल समूहका एक नेताले भने, ‘त्यसैले सकभर समय लिएरै दुईमध्ये एक पद रोज्न दिऊँ, यसबीचमै कुरा गरेर सकभर कन्भिन्स पनि गरौँ र एउटा टुंगोमा पुगौँला, स्थायी कमिटी बैठक पनि निरन्तर चल्दै जान्छ भन्ने हो  ।’ बिहीबारको छलफलमा चालू स्थायी कमिटी बैठकबाटै केन्द्रीय कमिटी बैठकको मिति तोक्न पनि ओली सकारात्मक भइसकेकाले प्रचण्ड–नेपाल समूह तत्कालका लागि एक कदम ‘ब्याक’ हटेर लचकता अपनाउने निष्कर्षमा पुगेको छ । उता, ओली समूह पनि संवाद जारी राख्दै केही समय लिएर शक्ति सञ्चय गर्दै जाँदा प्रचण्डलाई एकल अध्यक्षजस्तो कार्यकारी भूमिकाको अनुभूति हुने गरी मनाउन सकिने निष्कर्षमा पुगेको छ ।

    बिहीबार साँझ बालुवाटारमा उपप्रधानमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका निकटस्थ नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बसे पनि संवाद जारी रहने ब्रिफिङ सुनाएको एक नेताले बताए । यसअघि राष्ट्रक नाममा गरेको सम्बोधनमा ओलीले पार्टी विवाद सुल्झाउन संयम र धैर्य चाहिने बताएका थिए । बिहीबारको बालुवाटार छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले एकै स्वरमा पार्टी र सरकार दुवैतिरको नेतृत्वमा असफल भइसकेका कारण सहमतिका लागि प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिन पुरानै प्रस्ताव दोहो¥याएका थिए भने ओलीले पनि दुवै पद नछाड्ने विगतकै अडान राखेका थिए । ‘तपाईंबाट देश र पार्टी चलेन, दुवैतिरको नेतृत्व गर्न असफल हुनुभो, अब तपाईंबाट देश र पार्टी दुवै चल्दैन, त्यसैले लामो समय पार्टी र देश दुवैलाई बन्धक नबनाउनुस्, कमसेकम प्रधानमन्त्री पदबाट राजीनामा दिएर निकास दिनुस्,’ प्रचण्ड–नेपालको संयुक्त प्रस्ताव उद्धृत गर्दै एक शीर्ष नेताले नयाँ पत्रिकासँग भने । पछिल्ला मुद्दामा एउटै गठबन्धनमा रहेका प्रचण्ड–नेपाल ओलीसँगको वार्ताअघि आवश्यक गृहकार्य गरेर बालुवाटार पुगेका थिए । ओलीले पनि देशमा संकट निम्त्याउन राजीनामा मागिएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान राखेका थिए । ‘तपाईंहरुले देशमा संकट निम्त्याउन खोजिरहनुभएको छ, गठबन्धन गरेर आउनुहुन्छ, म दुवै पदबाट राजीनामा दिन्नँ,’ प्रधानमन्त्रीको जवाफ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘जे गर्नुपर्ने हो गरे हुन्छ ।’

    ओलीले आफू जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको जवाफ फर्काएपछि शुक्रबार डाकिएको स्थायी कमिटी बैठक नरोक्ने समझदारीसहित छलफल टुंगिएको थियो । त्यसलगत्तै वरिष्ठ नेता नेपाल बालुवाटारबाट बाहिरिएका थिए भने ओली र प्रचण्डबीच केहीबेर बेग्लै छलफल भएको थियो । बालुवाटार बैठकमा कुनै सहमति नभएपछि दुवै समूह शुक्रबारको स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेका थिए । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा सात एजेन्डामाथि छलफल भइरहेको थियो । तर, आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको १४ असारमा दिएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण चालू स्थायी कमिटी बैठकको एजेन्डा उनकै राजीनामामा केन्द्रित भएको थियो । ‘शुक्रबारको बैठकमा यसबीचमा भएका सहमतिको प्रयासबारे दुवै अध्यक्षले स्थायी कमिटीलाई ब्रिफिङ गर्ने र अझै सहमतिको प्रयास जारी राख्ने जानकारी गराएपछि बाँकी एजेन्डामा छलफल हुने गरी बैठक चल्नेछ,’ एक नेताले भने । यो खबर नयाँ पत्रिकाले छापेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology