Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रमलाई आखिर केको सुरक्षा थ्रेट?

सयौ सुरक्षा घेरा लिएर हिँडेका प्रमलाई आखिर केको सुरक्षा थ्रेट? {भिडियो सहित}

सयौ सुरक्षा घेरा लिएर हिँडेका प्रमलाई आखिर केको सुरक्षा थ्रेट? {भिडियो सहित}

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १८, २०७७ मंगलवार • ०५:३०:१७ बजे
  • 2.9K
    SHARES
  • सयौ सुरक्षा घेरा लिएर हिँडेका प्रमलाई आखिर केको सुरक्षा थ्रेट?  {भिडियो सहित}

    सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला?

    images

    'अत्य न्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला। तर त्यस्तो हुँदैन । म रहिनँ भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।'

    मयुरपाटी न्युज,आश तमु पोखरा । मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यो अभिव्यक्ति त त्यस्ता व्यक्तिको हो जो सबैभन्दा सुरक्षाघेराभित्र सुरक्षित रहँदै आएका छन्। हो, अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो।

    प्रधानमन्त्री केपी ओलीले सोमबार पोखरामा आयोजित एक कार्यक्रममा आफूमाथि भौतिक आक्रमणको योजनाको खुलासा गरे ।

    सुरक्षाकर्मीको मनोबल गिराउन खोजेकोजस्तो देखियो :सुरक्षा अधिकारीहरु

    मुलुकको कार्यकारी प्रमुखको यो भनाइ सार्वजनिक भएपछि सुरक्षा संयन्त्र भने अचम्ममा परेका छन् । उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति हावादारी भएको अनौपचारिक प्रतिक्रिया दिएका छन् ।

    यता प्रहरीले भने अहिलेसम्म प्रधानमन्त्रीमाथि त्यस्तो कुनै खालको सुरक्षा थ्रेट नआएको बताएको छ । तै पनि प्रधानमन्त्री स्वयंले नै आफूमाथि सुरक्षा थ्रेट रहेको बताएपछि सुरक्षा निकायले गम्भीर रुपमा भने हेरेको छ ।

    सुरक्षा अधिकारीहरु भन्छन्, उहाँले किन बोल्नुभयो हामी अचम्मित छौं । प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो अभिव्यक्तिबाट के प्रमाणित गर्न खोज्नुभएको हो ? राजनीतिक फन्डका लागि मनलाग्दी बोल्ने कुरा सुहाएन ।

    सुरक्षा परिषद्का अध्यक्षसमेत प्रधानमन्त्रीले आफूलाई कोबाट आक्रमणको सम्भावना रहेको खुलाएनन् । प्रधानमन्त्रीले आफूमाथि खतरा रहेको बताइरहँदा उनीसँगै गृहमन्त्री रामबहादुर थापा पनि थिए । सुरक्षा निकायका अधिकारीहरुका अनुसार नेपालको इतिहासमा हालसम्म कुनै पनि कार्यकारी प्रमुखमाथि आक्रमण भएको छैन ।

    सुरक्षा अधिकारीहरुले भने, उहाँले सुरक्षाकर्मीको मनोबल गिराउन खोजेकोजस्तो देखियो । नेपालको अहिलेको अवस्था द्वन्द्वकालीन पनि होइन । कुनै हतियारबद्ध विद्रोही समूह पनि छैन । सुरक्षाकर्मीको घेरामा बस्ने अनि ज्यानमाथि खतरा छ भन्ने कुरा कहींबाट पनि मेल खाँदैन ।

    नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी प्रधानमन्त्रीले कहींबाट केही सूचना पाएर त्यस्तो बोलेको हुनसक्ने अनुमान गर्छन् । उनले भने, प्रधानमन्त्रीज्यूले कहींबाट सूचना पाएरै बोल्नुभएको होला । तर देशकै कार्यकारीमाथि आक्रमण भएको नेपालको इतिहासको मलाई सम्झना छैन ।

    सुरक्षा निकाय के हेरेर बसेको छ त?

    उनको यस्तो अभिव्यक्ति आइरहँदा उनका अघिपछि आधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मी तैनाथ थिए। त्यस्तै, कार्यक्रम स्थलमा समेत बाक्लै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

    त्यसो त प्रधानमन्त्री पुग्ने पार्टी वा गुटकै भेला किन नहोस्, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत लगेर अनिवार्य ट्रेसिङ गरिएको हुन्छ। त्यसपछि सुरक्षाकर्मीले त्यहाँ पुगेर कार्यक्रमस्थललाई सुरक्षा दिन्छन्। प्रधानमन्त्री सवार हुँदा अगुवा पछुवाको त हुने नै भए। नेपाल प्रहरी र नेपाली सेनाबाट अङ्गरक्षक समेत खटाइएको हुन्छ प्रधानमन्त्रीका लागि।

    नेपाली सेनाबाट मात्र १ सय ७५ जना सुरक्षाकर्मी खटिएका छन्:नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेल

    अब प्रश्न उठ्छ यतिका सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला? अनि कस्तो किसिमको हमला भन्न खोजेको हो? कार्यक्रममा सहभागी हुँदा भिडमा रहेका विरोधीले नै जुत्ता वा अन्य प्रहार गर्छन् भन्न खोजिएको हो? वा कुनै सांघतिक हमला नै हो?

    प्रधानमन्त्रीले औपचारिक रुपमा नै सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिइसकेपछि सुरक्षा निकाय के हेरेर बसेको छ त?

    गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। गत मङ्सिरमा सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरेर २०७७ बनाइएको हो। प्रधानमन्त्रीको सुरक्षा अति विशिष्ट सुरक्षा अन्तर्गत पर्छ।

    नेपाली सेनाले प्रधानमन्त्री ओलीको सुरक्षाको कमान्ड लिएको हुन्छ। गृह मन्त्रालयको सुरक्षा योजना अनुसार राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म मात्र ८ सय भन्दा बढी सेना खटिएका छन्। प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म नेपाली सेनाबाट मात्र १ सय ७५ जना सुरक्षाकर्मी खटिएका छन्।

    'हामीले निर्देशिका अनुसार नै सुरक्षा व्यवस्था मिलाएका छौँ। प्रधानमन्त्रीको पनि त्यही अनुसार सुरक्षा मिलाइएको छ। निवासदेखि कार्यक्रममा जाँदा समेत सेनाको सुरक्षा हुन्छ, ' नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले भने।

    अहिलेसम्म प्रहरीसम्म सुरक्षा थ्रेटबारे पुष्टि हुने खालको कुनै सूचना आएको छैन : पाल प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्तबहादुर कुँवर

    नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्तबहादुर कुँवरले प्रधानमन्त्रीलाई विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार नै सुरक्षा प्रदान गरिएको बताए । जहाँ पहिलो घेरामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलका सुरक्षाकर्मीहरु तैनाथ हुन्छन् ।

    उनले संख्या नतोके पनि अहिले प्रधानमन्त्रीको सुरक्षामा करिब दुई सय ५० बढी सुरक्षाकर्मीहरु खटिएको बताए । अहिलेसम्म प्रहरीसम्म सुरक्षा थ्रेटबारे पुष्टि हुने खालको कुनै सूचना भने आइनसकेको उनको भनाइ छ ।

    सुरक्षा निकायका अधिकारीहरु प्रधानमन्त्री ओलीले भनेको झैँ सुरक्षा थ्रेट नभएको तर्क गर्छन्। नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, 'अहिलेसम्म कुनै पनि सुरक्षा थ्रेट देखेका छैनौं। यो भनाइ चाहिँ राजनीति गरमाएकाले नै आएको होला।'

    नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाको लागि डीएसपीको नेतृत्वमा ८० भन्दा धेरै सुरक्षाकर्मी खटाएको छ। उनीहरू प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री जाने सबै कार्यक्रमसम्म खटिएका हुन्छन्। प्रधानमन्त्री निवासमा चौबिसै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ।

    प्रहरीको सुरक्षा निर्देशनालयले प्रधानमन्त्री लगायत अति विशिष्ट, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने गर्छ। यसमा प्रधानमन्त्री कुनै कार्यक्रमको सिलसिलामा कुनै जिल्ला वा काठमाडौं उपत्यकाको कुनै ठाउँमा पुग्दा त्यहाँ प्रहरी वृत्त वा जिल्लामा इलाकाबाट खटिने थप सुरक्षाकर्मी अलग्गै परिचालन हुन्छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology